सुन्तला खेतीको हब बन्दै सिगाना: यस वर्ष गाउँमा भित्रियो चार करोड रुपैयाँ

काठमाडौँ, माघ २० । बागलुङ नगरपालिका-८, सिगानाका किसानले यस वर्ष सुन्तला बिक्रीबाट चार करोड रुपैयाँ आम्दानी गरेका छन् ।  व्यावसायिक सुन्तला खेतीको विस्तार र अनुकूल मौसमका कारण गत वर्षको तुलनामा यस वर्ष उत्पादन र आम्दानी दुवैमा वृद्धि भएको हो ।

गत वर्ष सुन्तला बिक्रीबाट ३ करोड ५० लाख रुपियाँ आम्दानी गरेका सिगानाका किसानले यसपटक थप ५० लाख रुपियाँ बढी आम्दानी गर्न सफल भएका छन् । स्थानीय किसान अनन्त खड्काका अनुसार, उनले गत वर्ष ५ लाख रुपैयाँमा बिक्री गरेको बगैँचा यस वर्ष ७ लाख ५० हजार रुपियाँमा ठेक्का दिएका छन् । उनीजस्तै यहाँका १०० भन्दा बढी किसानले वार्षिक १ लाखदेखि ७ लाख ५० हजार रुपियाँसम्म आम्दानी गर्ने गरेका छन् ।

गणेश कृषि सहकारी संस्थाका अध्यक्ष रामबहादुर खड्काले यस वर्ष सुन्तला बिक्रीबाट गाउँमा चार करोडभन्दा बढी रकम भित्रिएको पुष्टि गर्नुभयो। वडा कार्यालयले आधिकारिक तथ्याङ्क राख्न नसकेको अवस्थामा सहकारीले नै किसानको उत्पादन र बिक्रीको विवरण सङ्कलन गर्दै आएको छ ।

वि.सं. २०५० देखि कोदो र धान खेती छाडेर व्यावसायिक सुन्तला खेतीमा लागेका यहाँका किसानले अहिले गाउँका पाखाबारी र बेँसीसम्म खेती विस्तार गरिरहेका छन् । हाल यहाँका २५० भन्दा बढी किसानको सानो-ठूलो सुन्तला बगैँचा छ भने यस वर्ष मात्रै ४०० नयाँ बोटले उत्पादन दिन सुरु गरेका छन् ।

सिगानाको सुन्तला विशेष गरी स्वादिलो हुने भएकाले पोखरा, काठमाडौँ, चितवन र धादिङका व्यापारीहरू बगैँचामै पुगेर ठेक्का लिने गरेका छन्। सिगानाका बेँसी, पात्ले, पाखाबारी, बाँस्बोट र सायकोट क्षेत्रमा अहिले सुन्तला लगाउने क्रम तीव्र रूपमा अघि बढेको छ । आगामी पाँच वर्षभित्र सिंगो गाउँलाई नै सुन्तलाको बगैँचाका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

स्थानीय अगुवा शिवकुमार खड्काका अनुसार, यस वर्ष मौसम अनुकूल रहनु र बोटमा रोगको प्रकोप नदेखिनु उत्पादन बढ्नुको मुख्य कारण हो। सहकारीमार्फत किसानलाई सुन्तलाका बिरुवा अनुदानमा वितरण गरिएको र खेतीको स्तरीकरणमा सुधार आएकाले पनि किसानले राम्रो मूल्य पाएका हुन् ।

साविकका ३, ४, ५ र ७ नम्बर वडामा सुन्तलाको उत्पादन उच्च रहेको र अधिकांश किसान सहकारीमा आबद्ध भई संगठित रूपमा बजारीकरणमा लागेकाले यो क्षेत्र बागलुङकै प्रमुख सुन्तला उत्पादन केन्द्र (हब) का रूपमा स्थापित भएको छ।