ससुरालीमा श्रीमतीको हत्यापछि युवकले गरे घाँटी रेटेर आत्महत्या
विराटनगर, २० माघ । मोरङको रंगेलीमा एक बीभत्स घटना घटेको छ । घरायसी विवादका कारण एक युवकले आफ्नै पत्नीको हत्या गरी आत्महत्या गरेका छन् ।
मृत्यु हुनेमा रंगेली–५ का २१ वर्षीय मुकेशकुमार मण्डल र उनकी पत्नी अम्बिकाकुमारी मण्डल रहेका छन् । मुकेश सोमबार राति धनपट्टीस्थित ससुराली घर गएका थिए । त्यही क्रममा दम्पतीबीच झगडा हुँदा मुकेशले अम्बिकामाथि चक्कु प्रहार गरेका थिए ।
चक्कुको चोटले पत्नीको घटनास्थलमै मृत्यु भएपछि मुकेशले पनि सोही हतियारले आफ्नै घाँटी रेटेर प्राण त्यागेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । प्रहरीले घटनालाई ‘हत्यापछि आत्महत्या’ को प्रकृतिको रुपमा लिएको छ । हाल घटनास्थलमा प्रहरी टोली खटिएको छ र थप विवरण संकलन भइरहेको छ ।