सेयर बजारमा १२ अंकको गिरावट, कारोबार रकममा भने सामान्य सुधार

काठमाडौँ, २० माघ । साताको तेस्रो कारोबार दिन मङ्गलबार धितोपत्र बजार (नेप्से) परिसूचकमा गिरावट आएको छ । अघिल्लो दिन सामान्य अंकले बढेर बन्द भएको नेप्से आज १२.५८ अंकले घटेर २६८३.१५ विन्दुमा झरेको छ ।

नेप्से परिसूचकसँगै आज सेन्सेटिभ इण्डेक्स पनि २.४५ अंकले ओरालो लागेको छ । यस्तै, फ्लोट इण्डेक्समा ०.९८ र सेन्सेटिभ फ्लोट इण्डेक्समा ०.९० अंकको गिरावट देखिएको छ ।

बजार परिसूचक घटे पनि मंगलबार कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि भएको छ । सोमबार ८ अर्ब २२ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज ८ अर्ब ६३ करोड १५ लाख १२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

दिनभरिमा ३२२ कम्पनीको ९२ हजार ३३८ पटकको कारोबारमार्फत १ करोड ८७ लाख ३ हजार कित्ता सेयर खरिद-बिक्री भएको नेप्सेले जनाएको छ ।

मंगलबारको बजारमा कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको मूल्य ८१ रुपैयाँले बढेर प्रतिसेयर ८९१ रुपैयाँ पुगेको छ । यस्तै, एचएलआई लार्ज क्याप फण्डको इकाई मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ ।

यता, सान्भि इनर्जी र पियोर इनर्जीका लगानीकर्ताले भने आज करिब साढे ४ प्रतिशतले गुमाएका छन् ।

आज कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल अग्रस्थानमा रहेको छ । सो कम्पनीको ५९ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । यस्तै, आँखु खोला जलविद्युतको ४१ करोड र युनियन हाइड्रोपावरको ३२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ३ वटाको परिसूचक बढेको छ भने बाँकी १० वटा घटेका छन् । होटल तथा पर्यटन उपसमूह सर्वाधिक १.७९ प्रतिशतले बढेको छ भने म्युचुअल फण्ड र उत्पादन तथा प्रशोधन उपसमूहमा पनि सामान्य सुधार देखिएको छ । यता वित्त (Finance) उपसमूहको परिसूचक भने सबैभन्दा धेरै १.०९ प्रतिशतले घटेको छ ।