वैदेशिक रोजगारीको प्रलोभन देखाएर युवकलाई भारतमा बन्धक बनाउने दुई जना पक्राउ
सिरहा, २१ माघ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर एक युवकलाई भारत पुर्याई बन्धक बनाएको अभियोगमा सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–७ का २६ वर्षीय सुरज मुखिया र लहान नगरपालिका–११ का २२ वर्षीय प्रशान्त चौधरी रहेका छन् ।
उनीहरूले कल्याणपुर नगरपालिका–७ का रिशकेशकुमार मरिकलाई भारतको गयामा आकर्षक काम लगाइदिने बहानामा प्रलोभनमा पारेका थिए । गत पुस २० गते भारतको गया पुर्याइएका मरिकको मोबाइल र शैक्षिक प्रमाणपत्रहरू खोसेर एक होस्टलमा बन्धक बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, पीडितलाई बन्धक बनाएर कुटपिट गर्ने र ज्यान मार्ने धम्की दिँदै परिवारसँग फिरौती रकम माग गरिएको थियो । अभियुक्तहरूले मरिकको परिवारबाट २ लाख १७ हजार २०० रुपैयाँ र मरिकको साथमा रहेको ३० हजार भारतीय रुपैयाँ समेत असुल गरेको पाइएको छ ।
पीडितको बयान र प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरूलाई नियन्त्रणमा लिई थप कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।