सुनको मूल्य एकै दिन १४ हजार ४ सयले वृद्धि, चाँदी पनि महँगियो

काठमाडौँ, २१ माघ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बुधबार उल्लेख्य वृद्धि भएको छ । मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला १४ हजार ४ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ तोकिएको छ । मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । मंगलबार प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज २६५ रुपैयाँले बढेर ५ हजार ६०० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ५ हजार ५८ अमेरिकी डलर र प्रतिऔँस चाँदी ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।