दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि घटाउन सरकारको निर्देशन, अनुचित नाफा लिए कारबाही हुने

काठमाडौँ, २२ माघ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा देखिएको दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि तत्काल समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकहरूलाई कडा निर्देशन दिएको छ।

पछिल्लो समय खाद्यान्न, खानेतेल र ग्यास जस्ता अत्यावश्यक वस्तुमा मनपरी मूल्य बढेको गुनासो आएपछि विभागले यस्तो कदम चालेको हो।

विभागले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बजारमा अनावश्यक मूल्यवृद्धि नियन्त्रण गरी प्रतिस्पर्धी र स्वच्छ बजार व्यवस्था कायम गर्न व्यवसायीहरूलाई सचेत गराएको छ।

विभागले खाद्यान्न र खानेतेल उत्पादन गर्ने प्रमुख कम्पनीका प्रतिनिधि, ठूला पैठारीकर्ता र वितरकहरूलाई बोलाएर छलफल समेत गरेको छ। “अनुचित नाफा नलिई आफ्ना वस्तु वा सेवा उपलब्ध गराउन तथा अस्वाभाविक मूल्यवृद्धिलाई समायोजन गरी उपभोक्तालाई राहत दिन स्पष्ट निर्देशन दिइएको छ,” विभागको विज्ञप्तिमा उल्लेख छ।

पछिल्लो समय विशेष गरी खानेतेल, खाना पकाउने ग्यास र चामल लगायतका वस्तुमा आपूर्तिमा कृत्रिम अभाव देखाउने र मूल्य बढाउने प्रवृत्ति देखिएको छ। यस विषयमा उपभोक्ता र सञ्चारमाध्यमबाट प्राप्त गुनासाहरूलाई विभागले गम्भीरतापूर्वक लिएको जनाएको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम उपभोक्ताको अधिकार सुनिश्चित गर्न विभाग प्रतिबद्ध रहेको जनाइएको छ। विभागले नियम उल्लंघन गर्ने र अस्वाभाविक मूल्य लिने फर्म तथा प्रतिष्ठानहरूमाथि अन्य निकायको समन्वयमा संयुक्त अनुगमन भइरहेको र दोषी पाइएमा कडा कारबाही गरिने चेतावनी दिएको छ।

बजारमा वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, म्याद नाघेका सामग्री बिक्री गर्ने वा तोकिएको भन्दा बढी मूल्य लिने सञ्चयकर्ता र विक्रेताहरूलाई समेत विभागले कडा निगरानीमा राखेको छ।