सुन र चाँदीको मूल्यमा गिरावट: सुन तोलामा साढे ९ हजारले घट्यो

काठमाडौँ, २२ माघ । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँले घटेको हो।

महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँ तोकेको छ। बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत मङ्गलबार भने सुनको मूल्य २ लाख ९० हजार ३०० रुपैयाँ रहेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। बुधबार प्रतितोला ५ हजार ६०० रुपैयाँमा कारोबार भएको चाँदी आज ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँ कायम भएको छ। मङ्गलबार चाँदीको मूल्य ५ हजार ३३५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य ओरालो लागेको छ। पछिल्लो विवरण अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ५ हजार ७८ अमेरिकी डलर र चाँदी प्रतिऔँस ९० डलरमा कारोबार भइरहेको छ।