नेप्सेमा २७ अंकको सुधार, कारोबार रकम ११ अर्ब ५८ करोड नाघ्यो

काठमाडौँ, २२ माघ । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजारमा उल्लेख्य सुधार देखिएको छ। पछिल्ला दुई कारोबार दिनदेखि लगातार घटिरहेको नेप्से परिसूचक आज उच्च अंकले बढ्नुका साथै कारोबार रकममा पनि उत्साहजनक वृद्धि भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज परिसूचक २७.१९ अंकले बढेर २७०८.७० विन्दुमा पुगेको छ। त्यस्तै, ठूला कम्पनीहरूको मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि ४.४७ अंकले वृद्धि भएको छ।

बुधबार ७ अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज ३२६ कम्पनीका ३ करोड ५५ लाख ७४ हजार कित्ता सेयर ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँमा खरिदबिक्री भएका छन्। यो बुधबारको तुलनामा करिब ४ अर्ब रुपैयाँले बढी हो। आज दिनभरमा १ लाख ८ हजारभन्दा बढी पटक कारोबार भएको छ।

आज तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट (करिब १० प्रतिशत वृद्धि) लागेको छ। कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर र मोदी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। यस्तै, रिडी पावर र खानीखोला हाइड्रोपावरको मूल्य पनि करिब १० प्रतिशतकै हाराहारीमा बढेको छ।

यता, सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले भने आज सर्वाधिक १० प्रतिशतले गुमाएका छन्। कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर ५८ करोड ७७ लाख रुपैयाँसहित शीर्ष स्थानमा रह्यो भने राधी विद्युत कम्पनीको ५७ करोड ५० लाखभन्दा बढीको कारोबार भयो।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये व्यापार उपसमूहबाहेक बाँकी १२ वटा उपसमूहको सूचक बढेको छ। ‘अन्य’ र ‘निर्जीवन बीमा’ उपसमूहको परिसूचक सबैभन्दा बढी १.९८ प्रतिशतले वृद्धि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *