शेयर बजारमा दोहोरो अङ्कको गिरावट : नेप्से पुनः २७ सय मुनि झर्दा साढे ११ अर्बमाथिको कारोबार
काठमाडौँ, २५ माघ । साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र बजारमा दोहोरो अङ्कको गिरावट आएको छ। गत साताको अन्तिम दिन दोहोरो अङ्कले बढेर बन्द भएको नेप्से परिसूचक आज पुनः २७ सयको मनोवैज्ञानिक विन्दुभन्दा तल झरेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज परिसूचक १०.२५ अङ्कले घटेर २६९८.४४ विन्दुमा सीमित भएको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ०.४८ अङ्कले घटेको छ। परिसूचक घटे पनि बजारमा कारोबार रकम भने उच्च देखिएको छ।
आज ३३० कम्पनीका २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता शेयर १ लाख ११ हजार ९७८ पटक खरिदबिक्री हुँदा ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यो कारोबार रकम गत बिहीबारको (११ अर्ब ५८ करोड) तुलनामा केही बढी हो।
बजार घटे पनि तीनवटा जलविद्युत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सुपर माई हाइड्रोपावर, रिडी पावर कम्पनी र खानीखोला हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भयो।
कारोबार रकमका आधारमा आज सुपर मादी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो, जसको ५६ करोड ३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो। यस्तै, आँखुखोला जलविद्युतको ५१ करोड ५० लाख र रिडी पावरको ४७ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ।
आज कालिन्चोक दर्शन लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ८.९१ प्रतिशतले गुमाएका छन्। यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर ८.२९ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको ५.६४ प्रतिशतले घटेको छ।
आज १३ उपसमूहमध्ये ११ वटाको परिसूचक राताम्मे देखिएका छन् भने दुईवटा उपसमूह मात्र बढेका छन्। लगानी र अन्य उपसमूहमा सामान्य सुधार देखिँदा होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै २.१३ प्रतिशतले घटेको छ।