नेप्सेमा २६ अङ्कको गिरावट : कारोबार रकम १० अर्ब ७७ करोडमा खुम्चियो

काठमाडौँ, २६ माघ । साताको दोस्रो कारोबार दिन सोमबार धितोपत्र बजारमा दोहोरो अङ्कको गिरावट आएको छ। आइतबार झण्डै २७ अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले सोमबार पनि सोही लयलाई निरन्तरता दिएको हो।

आज नेप्से परिसूचक २६.०५ अङ्कले घटेर २६७२.३९ विन्दुमा ओर्लिएको छ। परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। आइतबार ११ अर्ब ६५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा सोमबार ३२४ कम्पनीको १ लाख २ हजार पटकको कारोबारबाट १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँ बराबरको २ करोड ६७ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

बजार घटे पनि खानी खोला हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको मूल्य ९.९७ प्रतिशतले बढेको हो। यस्तै रिडी हाइड्रोपावरको ९ प्रतिशत र लिबर्टी इनर्जीको मूल्य करिब ८ प्रतिशतले वृद्धि भएको छ। यता माया खोला हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै ५.४० प्रतिशतले गुमाएका छन्।

कारोबार रकमका आधारमा आज रिडी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ७७ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भयो। यस्तै एसवाई प्यानल नेपालको ५४ करोड र आँखु खोला जलविद्युत कम्पनीको ४८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको नेप्सेले जनाएको छ।

सोमबार १३ मध्ये व्यापार उपसमूहको परिसूचक मात्र सामान्य बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। वित्त (फाइनान्स) उपसमूह सबैभन्दा धेरै २.२९ प्रतिशतले ओरालो लागेको छ।