नेप्सेमा निरन्तर गिरावट: परिसूचक २६६२ विन्दुमा झर्यो, कारोबार रकम पनि संकुचित
काठमाडौँ, २७ माघ । धितोपत्र बजारमा नेप्से परिसूचक घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। साताको सुरुवातदेखि नै ओरालो लागेको बजार मंगलबार १०.२५ अंकले घटेर २६६२.१४ विन्दुमा ओर्लिएको छ।
नेप्सेका साथै यस दिन अन्य महत्वपूर्ण सूचकहरूमा पनि गिरावट आएको छ। सेन्सेटिभ इण्डेक्स १.२६ अंक, फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंकले घटेका छन्। निरन्तरको गिरावटले लगानीकर्तामा केही अन्योल देखिएको छ।
बजार परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ। सोमबार १० अर्ब ७७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा मंगलबार ३२४ कम्पनीको ८९ हजार ८३६ पटकको कारोबारमा ८ अर्ब ६१ करोड ६४ लाख १० हजार रुपैयाँ बराबरको २ करोड १७ लाख १५ हजार कित्ता सेयर मात्र किनबेच भएको छ।
बजार ओरालो लागे पनि कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सर्वाधिक ६.३६ प्रतिशतको वृद्धि देखिएको छ। यस्तै, अरुण भ्याली हाइड्रोपावरको मूल्य ५ प्रतिशतभन्दा बढी र आरबिबि फोकस ४० को इकाई मूल्य ४ प्रतिशतले बढेको छ। अर्कातर्फ, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक ५.२४ प्रतिशत गुमाएका छन्।
कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ४५ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस्तै, आँखु खोला जलविद्युतको ४० करोड ५० लाख र रिडी पावर कम्पनीको ३८ करोड ५० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
मंगलबार कारोबार भएका १३ उपसमूहमध्ये ११ वटाको सूचक घटेको छ भने केवल २ उपसमूहमा सामान्य सुधार देखिएको छ। म्युचुअल फण्ड र व्यापार उपसमूहको सूचक हरियो रहँदा विकास बैंक उपसमूहको सूचकमा सबैभन्दा बढी १.१५ प्रतिशतको गिरावट आएको छ।