नेप्सेमा झिनो गिरावट, स्थिर बजारमा झण्डै ९ अर्बको कारोबार
काठमाडौँ, २८ माघ । गत आइतबारदेखि लगातार ओरालो लागेको सेयर बजार मापक नेप्से परिसूचक बुधबार भने करिब स्थिर देखिएको छ । तीन कारोबार दिनदेखिको गिरावटमा ‘ब्रेक’ लाग्दै नेप्से परिसूचक ०.०४ अंकको सामान्य गिरावटसँगै २६६२.०९ विन्दुमा बन्द भएको छ ।
नेप्से परिसूचकमा खासै ठूलो फेरबदल नभए पनि सेन्सेटिभ इण्डेक्स भने ०.८१ अंकले बढेको छ । यस्तै फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंकले सकारात्मक रहेका छन् ।
बजार परिसूचक स्थिर रहे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि भएको छ । मंगलबार ८ अर्ब ६१ करोड रुपैयाँको सेयर किनबेच भएकोमा बुधबार ८ अर्ब ६९ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । दिनभर ३२९ कम्पनीका २ करोड २२ लाख ८२ हजार कित्ता सेयर ८२ हजार ४५० पटक किनबेच भएका छन् ।
बुधबार जलविद्युत् कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखिएको छ । रिडी पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.६७ प्रतिशतले बढेको छ । यस्तै सिंगटी हाइड्रो इनर्जीको मूल्य साढे ८ प्रतिशत र आँखु खोला जलविद्युत्को मूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
सबैभन्दा बढी गुमाउनेमा सुपर माई हाइड्रोपावर रहेको छ, जसको सेयर मूल्य ६.३९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा पनि रिडी पावर नै शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको ६५ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, आँखु खोला जलविद्युत्को ६२ करोड र सिंगटी हाइड्रोको साढे ५८ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
आज १३ उपसमूहमध्ये ५ वटाको परिसूचक बढेको छ भने ८ वटाको घटेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, लगानी र निर्जीवन बीमा उपसमूहमा हरियाली देखिएको छ भने बाँकी उपसमूहहरू सामान्य अंकले ओरालो लागेका छन् ।