पर्सामा १६० किलो गाँजासहित कार चालक पक्राउ
वीरगन्ज, ५ फागुन । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पर्साबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । सुरक्षाकर्मीको टोलीले पर्साको पकहाँमैनपुर गाउँपालिकाबाट एक सय ६० किलोग्राम गाँजासहित कार चालकलाई नियन्त्रणमा लिएको हो ।
सोमबार पकहाँमैनपुर गाउँपालिकाको मधुवनी चोकतर्फ गइरहेको प्र ३–०१–००२ च ५४३२ नम्बरको सुजुकी स्विफ्ट कारलाई शंका लागि चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला परेको हो । गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा कार चालक बुद्धिलाल घलान पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटरका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहनबहादुर क्षेत्रीका अनुसार, चालक घलानले कारको डिक्कीबाट प्याकिङ गरिएको गाँजा फ्याँक्ने प्रयास गर्दागर्दै उनलाई रंगेहात पक्राउ गरिएको थियो ।
प्रहरीले चालक घलानको साथबाट २२ हजार ५०० रुपैयाँ नगद र एउटा मोबाइल समेत बरामद गरेको छ । पक्राउ परेका घलान र बरामद गरिएको गाँजा तथा कारलाई आवश्यक थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको एसपी क्षेत्रीले जानकारी दिनुभयो ।