सुनको मूल्य आज पनि घट्यो, कति छ आजको बजार भाउ ?
काठमाडौँ, ६ फागुन । नेपाली बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबारको तुलनामा आज सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ सय रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ रहेको थियो।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। चाँदी तोलामा ५ रुपैयाँले घटेर ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। मंगलबार चाँदीको मूल्य ४ हजार ८८५ रुपैयाँ थियो।
यो साता सुनको मूल्य निरन्तर ओरालो लागेको देखिन्छ। साताको पहिलो दिन आइतबार प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँ पुगेको सुनको मूल्य सोमबार ३ लाख २ हजार ८०० रुपैयाँमा झरेको थियो। आजको मूल्य साताको सुरुवाती दिनको तुलनामा ५ हजार ४०० रुपैयाँले कम हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा पनि सुनचाँदीको मूल्यमा प्रभाव देखिएको छ।