नेपाल–भारत आर्थिक सहकार्यलाई परिणाममुखी बनाउन अध्यक्ष ढकालको जोड

काठमाडौँ,  फागुन ९ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र भारतबीचको आर्थिक सहकार्यलाई थप सहज, सुदृढ र परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ । भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको ‘दोस्रो इन्डो-नेपाल व्यापार महोत्सव २०२६’ लाई शुक्रबार सम्बोधन गर्दै उहाँले दुई देशबीचको व्यावसायिक साझेदारीका नयाँ सम्भावनाबारे चर्चा गर्नुभयो ।

अध्यक्ष ढकालले नेपाल र भारतबीचको व्यापारलाई थप प्रभावकारी बनाउन भन्सार प्रक्रियाको सरलीकरण, गुणस्तर मापदण्डमा समन्वय र डिजिटल व्यापार प्रणालीको सुदृढीकरण आवश्यक रहेको बताउनुभयो । विशेष गरी साना तथा मझौला उद्योग (SMEs) हरूका लागि वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण गर्नुपर्नेमा उहाँको विशेष जोड थियो ।

महासङ्घद्वारा जारी विज्ञप्तिअनुसार अध्यक्ष ढकालले भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्रमुख लगानीको स्रोत रहेको उल्लेख गर्दै खुला सीमा, सांस्कृतिक निकटता र जनस्तरको प्रगाढ सम्बन्धले यो साझेदारीलाई विशिष्ट बनाएको धारणा राख्नुभयो । विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र आपूर्ति शृङ्खलामा परेको अवरोधका बीच छिमेकी मुलुकहरूबीचको सहकार्य झनै महत्वपूर्ण हुने उहाँको तर्क थियो । भारतको हालैको केन्द्रीय बजेटले पूर्वाधार, डिजिटल कनेक्टिभिटी र हरित ऊर्जालाई दिएको प्राथमिकताबाट नेपालले पनि लाभ लिन सक्ने उहाँले बताउनुभयो ।

नेपाल जलविद्युत्मा धनी रहेको र भारततर्फ विद्युत् निर्यात सुरु भइसकेको सन्दर्भ जोड्दै अध्यक्ष ढकालले भन्नुभयो, “उपयुक्त प्रसारण लाइन र नीतिगत स्थिरता कायम हुन सके नेपाल भारतको एक विश्वासिलो हरित ऊर्जा साझेदार बन्न सक्छ ।”

अध्यक्ष ढकालले नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो । उहाँले ऊर्जा, पर्यटन, होटल, रिसोर्ट, केबलकार परियोजना, विशेष आर्थिक क्षेत्र, सीमापार लजिस्टिक्स, कृषि प्रशोधन, औषधि उद्योग, शिक्षा र स्वास्थ्य सेवामा प्रशस्त सम्भावना रहेको जानकारी दिनुभयो ।

नेपालको निजी क्षेत्रले सधैँ राजनीतिक स्थायित्व र आर्थिक अनुशासनको पक्षमा आवाज उठाउँदै आएको बताउँदै उहाँले लगानीकर्ताको आत्मविश्वास बढाउन नेपालमा निरन्तर नीतिगत सुधार भइरहेको स्पष्ट पार्नुभयो । इन्डो–नेपाल व्यापार महोत्सवलाई केवल एउटा औपचारिक कार्यक्रमका रूपमा मात्र नलिई यसलाई आपसी सद्भावलाई ठोस व्यावसायिक साझेदारीमा रूपान्तरण गर्ने साझा मञ्चका रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।