तीन दिनदेखिको गिरावट रोकियोः नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

काठमाडौँ, ११ फागुन । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचकमा सामान्य सुधार आएको छ । पछिल्ला तीन कारोबार दिनदेखि लगातार ओरालो लागिरहेको नेप्से यस दिन २.४१ अङ्कले बढेर २ हजार ६१६.९७ विन्दुमा पुगेर बन्द भएको छ ।

नेप्सेसँगै यस दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.६५ अङ्कले बढेको छ भने फ्लोट इन्डेक्स ०.१५ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४३ अङ्कले उकालो लागेको छ ।

बजारमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । आइतबार ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा सोमबार कारोबार रकम ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार रुपैयाँमा सीमित भएको छ । यस दिन ३२९ वटा कम्पनीका १ करोड २६ लाख २१ हजार कित्ता सेयर ५६ हजार ३४७ पटक किनबेच भएका छन् ।

सोमबारको बजारमा सालपा विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतको वृद्धि) लागेको छ । बैंकको सेयर मूल्य ३९ रुपैयाँ ९० पैसाले बढेर प्रतिकित्ता ४३९ रुपैयाँ २० पैसा कायम भएको छ ।

त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य करिब साढे ९ प्रतिशतले बढेको छ भने मेगा म्युचुअल फण्ड–१ र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यता, कारोबारमा आएको एनआईबीएल समृद्धि फण्ड–२ को एकाइ मूल्य भने सर्वाधिक ४.८१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको ३६ करोड २ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । त्यस्तै, रिडी पावर डेभलपमेन्टको ३२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच हुँदा एसवाई प्यानल नेपालको कारोबार रकम साढे २८ करोड रुपैयाँ नाघेको छ ।

नेप्सेका अनुसार कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ६ वटाको परिसूचक बढेको छ भने ७ वटाको घटेको छ ।