बजार अनुगमन तीव्र : कुलेश्वरका २६ व्यापारिक फर्ममाथि विभागको कारबाही

काठमाडौँ,  फागुन १२ । निर्वाचनको समयमा बजारमा हुनसक्ने अनियमितता रोक्न र उपभोक्ता हितको संरक्षण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आफ्नो सक्रियता बढाएको छ । यसै सिलसिलामा विभागले सोमबार काठमाडौँको कुलेश्वर क्षेत्रमा रहेका २६ वटा व्यापारिक फर्महरूमा आकस्मिक अनुगमन गरेको छ ।

विशेषगरी खाद्यान्न तथा फलफूल थोक व्यवसाय गर्ने फर्महरूलाई लक्षित गरी गरिएको उक्त अनुगमनका क्रममा कानुनको पूर्ण परिपालना गर्न निर्देशन दिइएको छ । निर्वाचनको बहानामा खाद्यान्न लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने र तोकिएको मूल्यभन्दा बढी लिने जस्ता गुनासाहरू प्राप्त भएपछि विभागले अनुगमनमा कडाइ गरेको हो ।

अनुगमनका क्रममा प्रक्रियागत कैफियत भेटिएपछि ‘रमेश फ्रुट ट्रेडर्स’लाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन आदेश दिइएको छ । अन्य २५ वटा फर्महरूलाई भने सामान्य त्रुटीहरू सच्याउन सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ ।

स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरूको उपस्थितिमा गरिएको यस अनुगमनले बजारमा हुने गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न र उपभोक्तालाई सुरक्षित राख्न मद्दत पुग्ने विश्वास लिइएको छ । विभागले आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।