निर्वाचनका लागि फागुन २० गते रातिदेखि गाडी चलाउन रोक, सात दिनअघि नै मदिरा निषेध

काठमाडौँ, १४ फागुन । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै अघिल्लो दिन (फागुन २० गते) राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले यातायात सञ्चालन, सीमा नाका व्यवस्थापन र मदिरा बिक्रीवितरणमा कडा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनको सुरक्षा व्यवस्थापनलाई चुस्त बनाउन गृह मन्त्रालयमार्फत ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइसकिएको छ ।

यस्ता छन् आयोगका मुख्य निर्णयहरू :
कुन-कुन गाडी चल्न पाउँछन् ?
फागुन २० गते राति १२ बजेदेखि पास नभएका सामान्य गाडी चल्न पाउने छैनन् । तर, अत्यावश्यक सेवाका साधनहरू जस्तै: एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी, विद्युत्, खानेपानी तथा दूरसञ्चार मर्मतका साधन निर्बाध चल्नेछन् । यसबाहेक कूटनीतिक नियोगका सवारी र आयोगबाट पूर्वस्वीकृत पास लिएका गाडीलाई भने रोक लगाइने छैन ।

हवाई यात्रुलाई छुट :
मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू यथावत् सञ्चालन हुनेछन् । हवाई यात्रुले आफ्नो टिकट देखाएर विमानस्थलसम्म जान र फर्किनका लागि निजी वा एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न पाउनेछन् ।

एक साता मदिरा निषेध :
निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै मतदानको ७ दिन अघिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म देशभर मदिरा (मादक पदार्थ) बिक्रीवितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाइनेछ ।

७२ घण्टाअघि सीमा नाका बन्द :
निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि नै देशका सबै अन्तर्राष्ट्रिय सीमा नाकाहरू बन्द गर्न आयोगले गृह मन्त्रालयमार्फत निर्देशन दिएको छ ।

यी कागजात देखाएर मतदान गर्न पाइने :
मतदाताले मतदाता परिचयपत्र नभए पनि आफ्नो परिचय खुल्ने अन्य सरकारी कागजातबाट मतदान गर्न पाउनेछन् । नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी (पासपोर्ट), जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) मध्ये कुनै एक साथमा लिएर गएमा मतदान गर्न पाइने व्यवस्था मिलाइएको छ ।

फागुन १८ देखि मौन अवधि :
फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध अवधि (मौन अवधि) लागू हुनेछ । यस अवधिमा आचारसंहिता उल्लङ्घन भएमा तत्काल कारबाही गर्न जिल्ला आचारसंहिता अनुगमन समिति र सुरक्षा निकायलाई कडा निर्देशन दिइएको छ ।

यसैबीच, अत्यावश्यक प्रयोजनका लागि सवारी पास वितरण गर्न निर्वाचन आयोगको सचिवालय परिसरमा छुट्टै ‘पास वितरण इकाइ’ खडा गरिने भएको छ । जसमा आयोग र काठमाडौँ जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरू खटिनेछन् ।