निर्वाचन आचारसंहिता उल्लङ्घन : ८७ उजुरीमा स्पष्टीकरण, ५७ को जवाफ प्राप्त
काठमाडौँ, १४ फागुन । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमाथि निगरानी र कारबाही प्रक्रियालाई तीव्र पारेको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा परेका ८७ वटा उजुरीमाथि दल, उम्मेदवार र सरोकारवालालाई स्पष्टीकरण सोधिएकोमा हालसम्म ५७ वटाको जवाफ प्राप्त भएको आयोगले जनाएको छ ।
आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार हालसम्म ८१ जनालाई लिखित र ६ जनालाई चित्तबुझ्दो जवाफ नआएपछि पुनः स्पष्टीकरण सोधिएको छ । आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्थालाई आयोगले जवाफ माग गरेको हो । प्राप्त जवाफहरूको आयोगले सूक्ष्म अध्ययन गरिरहेको छ ।
निर्वाचनलाई प्रभावित पार्ने गरी सामग्री प्रकाशन/प्रसारण गर्ने सञ्चारमाध्यम र पत्रकारलाई पनि आयोगले दायरामा ल्याएको छ । सञ्चारमाध्यम र पत्रकारको हकमा आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपालमार्फत लेखी पठाइएको छ ।
विशेषगरी, निर्वाचन विश्लेषणका नाममा मत सर्वेक्षण (ओपिनियन पोल) गरी ‘अमुक दल वा उम्मेदवार निर्वाचित हुँदैछन्’ भन्दै समाचार सामग्री प्रकाशन गरेको भन्दै ‘सेतोपाटी’ अनलाइनलाई प्रेस काउन्सिलमार्फत स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
केन्द्रीय स्तरमा मात्र नभई जिल्ला तहमा पनि आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाइएको छ । आयोगका अनुसार ७७ वटै जिल्लामा निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम छुट्टाछुट्टै अनुगमन अधिकृत तोकिएका छन् ।
जसअनुसार आर्थिकबाहेकका अन्य प्रशासनिक तथा राजनीतिक विषयको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) र आर्थिक विषयको अनुगमन गर्न प्रमुख कोष नियन्त्रकलाई जिम्मेवारी दिइएको छ ।
जिल्लास्तरमा आएका उजुरीहरूको हकमा जिल्लाबाटै स्पष्टीकरण सोधी जवाफ माग गर्ने र दोषी देखिएकालाई तत्काल कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने काम भइरहेको छ । चुनावलाई स्वच्छ र भयरहित बनाउन आचारसंहिताको पूर्ण पालना गराउने र उल्लङ्घनका घटना न्यूनीकरण गर्न सबै संयन्त्रहरू (केन्द्रीय समिति, जिल्ला समिति र निर्वाचन कार्यालय) क्रियाशील रहेको आयोगले स्पष्ट पारेको छ ।