झापामा चैते धान रोपाइँ सुरु: मूल्यको अन्योलताले खेतीको क्षेत्रफल घट्ने सम्भावना

काठमाडौँ, फागुन १५ ।  झापा जिल्लामा यस वर्षको चैते धान रोपाइँको औपचारिक सुरुवात भएको छ। जिल्लाको दक्षिण-पूर्वी क्षेत्र कचनकवल गाउँपालिकाबाट रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्र, झापाले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार चैत दोस्रो सातासम्ममा जिल्लाभर रोपाइँ सम्पन्न हुने अनुमान गरिएको छ। जिल्लामा पछिल्लो समय परम्परागत खेती प्रणालीको विकल्पमा मेसिनको प्रयोग बढ्दै गएकाले रोपाइँमा सहजता आएको छ। हाल जिल्लाका विभिन्न स्थानमा १० वटा धान रोप्ने मेसिन (ट्रान्सप्लान्टर) सञ्चालनमा रहेका छन् ।

यद्यपि, यस वर्ष चैते धान खेतीको क्षेत्रफलमा भने केही गिरावट आउने देखिएको छ। गत वर्ष जिल्लाको करिब २० हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकोमा यस वर्ष उक्त क्षेत्रफल १५ देखि २० प्रतिशतले घट्ने कृषि ज्ञान केन्द्रको आकलन छ । गत वर्ष धानको बजार मूल्य प्रतिमन (४० किलो) मात्र रु ७०० रहेकाले लगानी अनुसारको प्रतिफल नपाउँदा किसानहरू मकै खेतीतर्फ आकर्षित भएका हुन् ।

धानको जाततर्फ यसअघि ‘हर्दिनाथ-१’ बढी प्रचलित रहे पनि यस वर्षदेखि ‘हर्दिनाथ-६’ मा किसानको रुचि बढेको छ। मोरङस्थित आरजु राइस मिलले ‘हर्दिनाथ-६’ जातको धान प्रतिमन रु १ हजारमा खरिद गर्ने पूर्वसहमति जनाएपछि बिक्रीको सुनिश्चितताका कारण किसानहरू यसतर्फ आकर्षित भएका हुन् ।

यसैगरी, कृषि ज्ञान केन्द्रले लागत घटाउन र उत्पादन बढाउन जिल्लामा ‘छरुवा धान’ (डीएसआर) प्रविधिलाई पनि प्रोत्साहन गरिरहेको छ। यो प्रविधि अपनाउँदा झार नियन्त्रणमा केही प्राविधिक चुनौती रहे पनि उत्पादनका हिसाबले प्रभावकारी मानिन्छ। धान खेतीका लागि आवश्यक रासायनिक मलको भने जिल्लामा हाल कुनै अभाव नरहेको कार्यालयले स्पष्ट पारेको छ ।