निर्वाचन आचारसंहिता उल्लंघन: परेका उजुरीमध्ये ९९ प्रतिशत फछ्र्यौट, लुम्बिनीमा सबैभन्दा धेरै

काठमाडौँ, १६ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको सिलसिलामा जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतहरूसमक्ष परेका उजुरीमध्ये ९९ प्रतिशत फछ्र्यौट गरिएको जनाएको छ ।

प्राप्त कुल एक हजार ७६ उजुरीमध्ये हालसम्म एक हजार ६१ वटा उजुरीको टुङ्गो लगाइएको हो ।
आयोगका अनुसार प्राप्त भएका उजुरीमध्ये धेरैजसो तत्काल कारबाही गरी किनारा लगाइएको छ ।

प्रदेशगत तथ्याङ्क अनुसार सबैभन्दा बढी उजुरी लुम्बिनी प्रदेशमा दर्ता भएका छन् । लुम्बिनीमा २४४ उजुरी पर्दा सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ वटा उजुरी परेका छन् । आयोगले उजुरी प्राप्त गर्ने विभिन्न माध्यमहरू तय गरेको थियो । कुल उजुरीमध्ये ९७ वटा लिखित रूपमा आएका थिए भने बाँकी ९७९ वटा उजुरी टेलिफोन, एसएमएस तथा अन्य डिजिटल माध्यमबाट प्राप्त भएका थिए ।

आचारसंहिता उल्लंघनका उजुरीहरूको प्रकृति हेर्दा सबैभन्दा धेरै उजुरी तोकिएको मापदण्डभन्दा ठूला तुल, ब्यानर र झण्डा प्रयोग गरेको विषयमा रहेको आयोगले जनाएको छ ।

ध्वनि प्रदूषण: डिजे र ठूला माइक बजाएर सर्वसाधारणलाई सास्ती दिएको ।
सामाजिक सञ्जाल: निर्वाचनको वातावरण बिगार्ने गरी सामाजिक सञ्जालको दुरुपयोग गरिएको ।
कर्मचारी र जनप्रतिनिधिको संलग्नता: सरकारी शिक्षक, कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिहरू प्रत्यक्ष रूपमा प्रचारप्रसारमा हिँडेको ।
सवारी साधन: अनुमति नलिएका सवारी साधन प्रयोग गरेको र सार्वजनिक स्थान तथा गाडीहरूमा जथाभावी झण्डा टाँसिएको ।

आयोगले बाँकी रहेका उजुरीहरूको पनि छिट्टै फछ्र्यौट गरिने र आचारसंहिता पालनामा कडाइ गरिने स्पष्ट पारेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा अनुगमन टोलीलाई थप सक्रिय बनाइएको र गम्भीर उल्लंघन गर्नेहरूलाई कानुनी कारबाहीका लागि सिफारिस समेत भइरहेको आयोगको भनाइ छ ।