निर्वाचनका दिन यसरी मिलाइएको छ पासको व्यवस्था: एम्बुलेन्स, प्रेस र अत्यावश्यक सेवालाई पास नचाहिने

काठमाडौँ, १७ फागुन । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन सञ्चालन हुने सवारीसाधनका सम्बन्धमा स्पष्ट पारेको छ । आयोगले ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ बमोजिम अत्यावश्यक सेवाका सवारीसाधनलाई कुनै पनि प्रकारको पास आवश्यक नपर्ने जनाएको हो ।

आयोगका अनुसार निर्वाचनका दिन दमकल, एम्बुलेन्स, शववाहन तथा खानेपानी, दूध, फलफूल, तरकारी, माछा–मासु र पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई पासविना नै सञ्चालन हुन दिइनेछ । यस्तै दूरसञ्चार, विद्युत् र ढल मर्मतमा प्रयोग हुने सवारीसाधन तथा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले अस्पताल आउन–जान प्रयोग गर्ने सवारीलाई पनि पास अनिवार्य गरिएको छैन ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई यात्रु बोकेका सवारीसाधन (विमानस्थलदेखि घर वा होटलसम्म) लाई हवाई टिकटका आधारमा आवतजावत गर्न दिइनेछ । मानवीय संवेदनशीलतालाई मध्यनजर गर्दै गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति, किरियापुत्री र ज्येष्ठ नागरिक मतदाता बोकेका सवारीसाधन पनि पासविना नै निर्वाध सञ्चालन हुन सक्नेछन् । यस्ता सवारीमा मतदातालाई सघाउन एकजना सहयोगी पनि सँगै रहन पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै, कूटनीतिक नियोगका (सीडी नम्बर प्लेट) सवारी, आयोगबाट जारी परिचयपत्रवाहक पर्यवेक्षकका सवारी, राष्ट्रिय मानवअधिकार आयोगको अनुगमन टोली र प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन सहज रूपमा सञ्चालन हुनेछन् ।

काठमाडौँ उपत्यकाको हकमा सवारी पास व्यवस्थापन सहज बनाउन निर्वाचन आयोग परिसरमा एकीकृत सवारीसाधन आवागमन डेस्क स्थापना गरिएको छ । सोही डेस्कमार्फत काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट जारी हुनुपर्ने सवारी पासहरू वितरण भइरहेको आयोगले जनाएको छ ।