निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु: सुक्ष्म अनुगमन गर्न अनुगमन अधिकृतहरूलाई आयोगको निर्देशन

काठमाडौँ, १९ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज रातिदेखि ‘प्रचारप्रसार निषेध अवधि’ (मौन अवधि) सुरु हुँदैछ । यसै सन्दर्भमा निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूलाई सुक्ष्म अनुगमन गरी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न विशेष निर्देशन दिएको छ ।

आयोगले मतदान हुने दिनको ४८ घण्टा अगाडिदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणहरूको पूर्ण परिपालना गराउन सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखहरू (जो आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकिएका छन्) लाई निर्देशन दिएको हो ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ बमोजिम यो अवधिमा कुनै पनि प्रकारको प्रचारप्रसार, जुलुस, आमसभा वा सामाजिक सञ्जालमार्फत मत माग्ने कार्य गर्न पाइँदैन । आयोगले आफ्ना अनुगमन अधिकृतहरूलाई जिल्लाभित्रका गतिविधिहरूको कडाइका साथ निगरानी गर्न र कुनै पनि उम्मेदवार वा दलले नियम उल्लङ्घन गरेको पाइएमा तत्काल कारबाही अघि बढाउन भनेको छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीतका कार्य गर्नेहरूलाई सोही ऐनबमोजिम कारबाही गर्न जिल्ला आचारसंहिता अनुगमन समितिसँग समन्वय गरी सक्रियता बढाउन समेत आयोगले निर्देश गरेको छ । आयोगले निर्वाचनको निष्पक्षता जोगाउन सबै सरोकारवालालाई आचारसंहिताको पूर्ण पालना गरिदिन हार्दिक अनुरोध समेत गरेको छ ।