बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, आजै दिउँसो बोलकबोल हुने

काठमाडौं, १९ फागुन । बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले बजारबाट एक खर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत मंगलबार उक्त परिमाणको रकम तान्न लागेको हो।

राष्ट्र बैंकका अनुसार ३५ दिन अवधिको उक्त निक्षेप संकलनका लागि आजै (मंगलबार) दिउँसो ३ बजे बोलकबोल (अक्सन) हुनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्।

यस निक्षेप संकलनको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनीहरूले मात्र सहभागी हुन पाउनेछन्।

बोलकबोल पूर्ण रुपमा ब्याजदरका आधारमा हुनेछ। सहभागी संस्थाले बहु–ब्याजदरमा पनि बहु–बोलकबोल गर्न सक्ने व्यवस्था मिलाइएको छ। यसका लागि बैंक तथा वित्तीय संस्थाले आफूले जम्मा गर्न चाहेको रकम र प्रस्ताव गरेको ब्याजदर (दशमलव पछिको चार अंकसम्म) स्पष्ट खुलाउनुपर्नेछ।

रकम बाँडफाँट गर्दा बोलकबोल गरिएको मध्ये सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखेर क्रमशः आह्वान गरिएको रकमसम्म बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकका अनुसार यसरी संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी फागुन २५ गते गरिनेछ। बजारमा अधिक तरलता हुँदा ब्याजदरमा अस्वाभाविक उतारचढाव नआओस् भन्नका लागि राष्ट्र बैंकले बेलाबेलामा यसरी बजारबाट पैसा उठाउने (प्रशान्तीकरण गर्ने) गर्दछ।