उदयपुरमा सुरक्षाकर्मीको हतियारबाट अचानक गोली चल्यो : मतपेटिकामा क्षति, मतदान सुचारु

उदयपुर, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य भइरहेका बेला उदयपुरमा सुरक्षाकर्मीको हतियारबाट अचानक गोली चलेको छ । उदयपुरको कटारी नगरपालिका–३ स्थित तावाखोला (ख) मतदान केन्द्रमा सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको ‘सटगन’ बाट बिहान ७:१० बजेतिर गोली पड्किएको हो ।

कोशी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार प्रहरीले बोकेको हतियारबाट अचानक गोली पड्किँदा नजिकै रहेको मतपेटिकामा सामान्य क्षति पुगेको छ । “प्रहरीको हतियारबाट गोली पड्किएर मतपेटिकामा लागेको हो, तर सुखद पक्ष कुनै मानवीय क्षति भएको छैन,” डीआईजी घिमिरेले भन्नुभयो ।

गोली लागेर मतपेटिकामा क्षति भएपछि केही समय सो केन्द्रमा तनाव र अन्योल सिर्जना भएको थियो । सुरक्षा निकाय र निर्वाचन अधिकृतको टोलीले तत्कालै क्षतविक्षत भएको मतपेटिकालाई सुरक्षित राख्दै अर्को नयाँ मतपेटिकाको व्यवस्था गरी मतदान सुचारु गरेको छ ।

प्रहरीले यो घटनालाई ‘दुर्घटना’ को रूपमा लिएको छ र मानवीय त्रुटिका कारण गोली चलेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ । हाल सो मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान कार्य जारी रहेको र सुरक्षा व्यवस्था थप कडा पारिएको प्रहरीले जनाएको छ ।