सुनको मूल्यमा फेरी वृद्धि : तोलामा ३५ सयले बढेर ३ लाख १६ हजार पार, चाँदी पनि महँगियो
काठमाडौं, २४ फागुन । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा एकैपटक ३ हजार ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ । शुक्रबार प्रतितोला ५ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ३० रुपैयाँले बढेर ५ हजार ४ सय ७५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, आज विश्व बजारमा सुन प्रतिऔँस ५ हजार १ सय ७० अमेरिकी डलर र चाँदी प्रतिऔँस ८५ डलरमा कारोबार भइरहेको छ ।