धनुषा–१ को अन्तिम मतपरिणाम घोषणा रोक्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं, २४ फागुन । निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यतर्फको अन्तिम मतपरिणाम तत्काल घोषणा नगर्न निर्देशन दिएको छ । सर्वोच्च अदालतमा सो क्षेत्रको उम्मेदवारी विवादसम्बन्धी मुद्दा विचाराधीन रहेकाले आयोगले यस्तो निर्णय गरेको हो ।

आयोगको निर्णयअनुसार आजै (बिहीबार) धनुषा क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालयलाई परिणाम घोषणा रोक्न पत्राचार गरिएको आयोगका शाखा अधिकृत (कानुन) अरुण अधिकारीले जानकारी दिएका छन् ।

गत फागुन १८ गते निर्वाचन आयोगले सोही क्षेत्रका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेज गरेको थियो । उम्मेदवार साहको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको सप्रमाण उजुरी परेपछि आयोगले कानुनी व्यवस्थाअनुसार उनको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको थियो ।

आयोगको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भई हाल सो मुद्दा विचाराधीन अवस्थामा छ ।

“उक्त मुद्दाका सम्बन्धमा सर्वोच्च अदालतबाट अन्तिम आदेश वा फैसला नआएसम्म धनुषा निर्वाचन क्षेत्र नम्बर १ को पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको मतपरिणाम घोषणा नगर्नु/नगराउनु भनी आयोगबाट निर्णय भएको छ,” शाखा अधिकृत अधिकारीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

साथै, उक्त पत्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा तामेल गराई सोको जानकारी अविलम्ब आयोगलाई उपलब्ध गराउन प्रदेश निर्वाचन कार्यालयलाई बोधार्थसमेत पठाइएको अधिकारीले बताए ।