समानुपातिक मतगणना अपडेट: यस्ताे छ मत परिणामकाे पछिल्लो तथ्याङ्क, कुन दलले कति पाए ?

काठमाडौँ, २५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो दबदबा कायम राखेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार रास्वपाले अन्य परम्परागत दलहरूलाई निकै पछाडि पार्दै फराकिलो अग्रता लिएको हो।

आज बिहान ५:५० बजेसम्मको विवरणअनुसार कूल ७५ लाख ७५ हजार १९३ मत गणना सम्पन्न भएको छ। जसमध्ये रास्वपाले मात्रै ३६ लाख ७२ हजार २६५ मत प्राप्त गरेको छ। यो कूल गणना भएको मतको झण्डै ४८ प्रतिशत हिस्सा हो।

प्रमुख दलहरूको अवस्था:
आयोगका अनुसार दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले हालसम्म १२ लाख ३८ हजार ३८१ मत प्राप्त गरेको छ। त्यस्तै, नेकपा (एमाले) १० लाख ४७ हजार ५१२ मतका साथ तेस्रो स्थानमा छ।

अन्य दलहरूको मत विवरण यस प्रकार छ:
नेपाली कम्युनिस्ट पार्टी (नेकपा): ५ लाख ३८ हजार २७० मत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): २ लाख ५८ हजार ६६६ मत
श्रम संस्कृति पार्टी: २ लाख ४० हजार ७६३ मत

मतगणनाको प्रारम्भिक रुझान हेर्दा नयाँ शक्तिहरूको उदय र स्थापित दलहरूको साखमा गिरावट आएको देखिएको छ। विशेषगरी हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि उल्लेख्य मत ल्याउँदै संसद्मा आफ्नो बलियो उपस्थितिको सङ्केत गरेको छ।

देशभरका विभिन्न गणना केन्द्रहरूमा अहिले पनि समानुपातिकतर्फको मतगणना कार्य तीव्र रूपमा भइरहेको छ। आयोगले आगामी केही दिनभित्रै समानुपातिकतर्फको सम्पूर्ण नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।