चैत पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरिने : निर्वाचन आयोग

काठमाडौँ, २५ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण प्रक्रिया सम्पन्न गरी आगामी चैतको पहिलो साताभित्र समानुपातिकतर्फका सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने तयारी गरेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार भोलि (मङ्गलबार) सम्ममा समानुपातिकतर्फको सम्पूर्ण मतगणना सम्पन्न हुने अनुमान गरिएको छ। मतगणना सकिएसँगै आवश्यक कानुनी प्रक्रिया पूरा गरी चैत पहिलो साताभित्रै प्रमाणपत्र वितरणलगायतका सबै काम टुङ्ग्याइने उनले जानकारी दिए।

सम्पूर्ण मतगणना सम्पन्न भइसकेपछि आयोगले खसेको कुल सदर मतको प्रतिशत निकाल्नेछ। सोही सदर मतको प्रतिशतका आधारमा ‘थ्रेसहोल्ड’ पार गरेका दलहरूले प्राप्त गर्ने सिट सङ्ख्या यकिन गरिनेछ।

सिट सङ्ख्या निर्धारण भएपछि आयोगले सम्बन्धित दलहरूलाई उनीहरूले यसअघि बुझाएको समानुपातिक बन्दसूचीबाट निर्वाचित हुने उम्मेदवारहरूको नामावली पठाउन पत्राचार गर्नेछ।

प्रवक्ता भट्टराईले भने, “दलहरूबाट प्राप्त नामावलीलाई कानुनले तोकेको समावेशी क्लस्टर (समूह) अनुसार मिले/नमिलेको रुजु गरिनेछ। क्लस्टरअनुसार नाम मिलेको पाइएपछि मात्र निर्वाचित सदस्यहरूको अन्तिम घोषणा गरी आयोगले आधिकारिक रूपमा प्रमाणपत्र वितरण गर्नेछ।”

आयोगले तोकिएको समयतालिकाभित्रै निर्वाचनका सम्पूर्ण कार्यभार सम्पन्न गरी नयाँ संसद् गठनको बाटो खुला गर्न तीव्र रूपमा काम गरिरहेको जनाएको छ।