आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता निष्प्रभावी हुने

काठमाडौँ, फागुन २५  । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लक्षित गरी लागू गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ आज राति १२ बजेदेखि निष्प्रभावी हुने भएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, गत माघ ४ गतेदेखि लागू गरिएको उक्त आचारसंहिता आज रातिदेखि निष्क्रिय गर्ने निर्णय भएको हो । गत माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले उक्त आचारसंहिता जारी गरेको थियो ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १ को उपदफा (२) बमोजिमको व्यवस्थालाई आधार मानी सो समयमा आचारसंहिता लागू गरिएको थियो ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै माघ ४ गतेको निर्णयअनुसार प्रारम्भ भएको आचारसंहिताको समयावधि आज राति १२ बजेदेखि समाप्त हुने जानकारी गराएको छ ।