शिक्षित सहर काठमाडौँमै आठ हजारभन्दा बढी मत बदर, क्षेत्र नम्बर १० मा सबैभन्दा धेरै

काठमाडौँ, २५ फागुन । सबैभन्दा बढी साक्षरता दर रहेको काठमाडौँ जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा आठ हजार १९७ मत बदर भएको छ। गत फागुन २१ गते सम्पन्न निर्वाचनमा काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा गरी सो सङ्ख्यामा मत बदर भएको हो।

जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार बदर मतको सङ्ख्या निर्वाचन क्षेत्र नम्बर १० मा सबैभन्दा बढी र क्षेत्र नम्बर १ मा सबैभन्दा कम देखिएको छ।

निर्वाचन क्षेत्रगत बदर मतको विवरण:
क्षेत्र नं. १०: कूल ६० हजार ४४१ मत खसेकोमा १ हजार २२६ मत बदर भएको छ। यहाँ ५९ हजार २१५ मत सदर भएको थियो।
क्षेत्र नं. २: कूल ५९ हजार ४४१ मत खसेकोमा १ हजार ९५ मत बदर भएको छ।
क्षेत्र नं. ३: ४४ हजार १९० मत खसेकोमा ९४० मत बदर भएको छ।
क्षेत्र नं. ९: ५२ हजार ७४० मत खसेकोमा ९३३ मत बदर भएको छ।
क्षेत्र नं. ५: ५१ हजार ९६९ मत खसेकोमा ९०२ मत बदर भएको छ।
क्षेत्र नं. ४: ५० हजार ९६३ मत खसेकोमा ८६२ मत बदर भएको छ।
क्षेत्र नं. ६: ४५ हजार २४८ मत खसेकोमा ८११ मत बदर भएको छ।
क्षेत्र नं. ७: ४४ हजार ८५७ मत खसेकोमा ८०५ मत बदर भएको छ।
क्षेत्र नं. ८: ३७ हजार ७९४ मत खसेकोमा ६२३ मत बदर भएको छ।
क्षेत्र नं. १: ३२ हजार ३१४ मत खसेकोमा सबैभन्दा कम ४३४ मत बदर भएको छ।

निर्वाचन आयोगका अनुसार देशभरको कूल बदर मतको अन्तिम विवरण मङ्गलवार सबै मतगणना सकिएपछि मात्रै सार्वजनिक हुनेछ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले अहिलेसम्मको प्रारम्भिक विवरणअनुसार मुलुकभर ३ देखि ४ प्रतिशतको हाराहारीमा मत बदर भएको अनुमान गरिएको जानकारी दिनुभयो।

यसैबिच, समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ। आज बेलुकीसम्म ९५ लाख २३ हजार मतगणना सकिएको आयोगले जनाएको छ। मतदाता शिक्षाको कमी वा जटिल मतपत्रका कारण साक्षर जिल्लामै उल्लेख्य मत बदर हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।