इलाम–१ मा नेपाली कांग्रेसका निश्कल राई विजयी
काठमाडौँ, फागुन २५ । इलाम क्षेत्र नं १ मा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी हुनुभएको छ । उहाँ ९११ मतान्तरले निर्वाचित हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राईले कूल १४ हजार ५४३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका उम्मेदवार विनोदकुमार नेम्बाङ लिम्बूले १३ हजार ६३२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
चुनावी प्रतिस्पर्धामा रहनुभएका अन्य उम्मेदवारहरूमध्ये नेपाल कम्युनिष्ट पार्टी (एमाले) का काजिमान कागतेले ११ हजार ९६६ मत प्राप्त गर्नुभयो । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १६० र नेपाली कम्युनिष्ट पार्टीका रणबहादुर राईले ७ हजार ६६५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।