मध्यपूर्वको हवाई क्षेत्रमा अवरोध: फ्लाई दुबईका उडान मार्च ११ सम्म स्थगित, आजै ७ उडान रद्द

काठमाडौँ, २५ फागुन । मध्यपूर्व क्षेत्रको हवाई क्षेत्रमा उत्पन्न हालैको प्रतिबन्ध र प्राविधिक कठिनाइका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरू नराम्ररी प्रभावित भएका छन् ।

विशेषगरी खाडी मुलुकहरूलाई गन्तव्य बनाएर उडान भर्ने वायुसेवा कम्पनीहरूको उडान तालिकामा ठूलो फेरबदल र रद्द हुने क्रम बढेको छ ।

विमानस्थल कार्यालयका अनुसार आजका लागि तय गरिएका विभिन्न सातवटा वायुसेवा कम्पनीका दर्जनभन्दा बढी उडानहरू रद्द गरिएका छन् । यसरी रद्द हुनेमा जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका जहाजहरू रहेका छन् । यी जहाजहरूले कुवेत, शारजाह, दुबई, दोहा र दमामका लागि उडान भर्ने तालिका थियो ।

फ्लाई दुबईले मध्यपूर्वको आकाशमा देखिएको अवरोधका कारण आफ्ना सबै उडानहरू आगामी मार्च ११ तारिखसम्मका लागि स्थगित गरेको छ । विमानस्थलले जारी गरेको सूचनाअनुसार प्राविधिक कठिनाइ र हवाई मार्गको अनिश्चितताका कारण यो निर्णय लिइएको हो ।

उडान रद्द र ढिलाइ भएपछि हजारौँ यात्रुहरू मर्कामा परेका छन् । विमानस्थल कार्यालयले यात्रु व्यवस्थापनलाई सहज बनाउन सम्बन्धित वायुसेवा कम्पनी तथा निकायहरूसँग समन्वय भइरहेको जनाएको छ ।

विमानस्थलले एक सूचना जारी गर्दै उडान रद्द भएका यात्रुहरूलाई थप जानकारीका लागि आ–आफ्नो वायुसेवा कम्पनीको वेबसाइट वा उपलब्ध गराइएका आधिकारिक टेलिफोन नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरेको छ । मध्यपूर्वमा उत्पन्न तनाव र हवाई क्षेत्रको प्रतिबन्धले गर्दा अन्तर्राष्ट्रिय उडानहरू कहिलेदेखि नियमित हुन्छन् भन्नेबारे अझै अन्योल कायमै छ ।