सुनको मूल्य एकैदिन ३ हजार ८०० ले वृद्धि, तोलाको कतिमा भयाे काराेबार ?

काठमाडौँ, २६ फागुन । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा पुन: वृद्धि भएको छ। गत शुक्रबारको तुलनामा आज सुनको भाउ प्रतितोला ३ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला ३१० रुपैयाँले उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम गरिएको छ। यसैगरी, चाँदी (सेतो धातु) को मूल्य प्रतितोला ५ हजार ७२० रुपैयाँ निर्धारण भएको छ।

महासङ्घको तथ्याङ्क अनुसार अघिल्लो दिन (सोमबार) सुन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँ र चाँदी ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।

नेपाली बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य बढेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, आज विश्व बजारमा सुन प्रतिऔँस ५ हजार १४१ अमेरिकी डलर र चाँदी प्रतिऔँस ८७.५ डलरमा कारोबार भइरहेको छ।