सुन तोलामा २८ सय रुपैयाँले घट्याे, चाँदीको मूल्यमा पनि गिरावट
काठमाडौं, २९ फागुन । लगातार उतारचढाव भइरहेको स्थानीय बजारमा आज (शुक्रबार) सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ। अघिल्लो दिन (बिहीबार) को तुलनामा आज सुन तोलामा २ हजार ८०० र चाँदी २० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँ कायम गरिएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ५ हजार ४९५ रुपैयाँ निर्धारण भएको छ।
यस साता सुनचाँदी बजारमा दैनिकजसो मूल्य परिवर्तन भइरहेको छ। हिजो बिहीबार सुन प्रतितोला ३ लाख १७ हजार र चाँदी ५ हजार ५१५ रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि बुधबार सुनको मूल्य बढेर ३ लाख १९ हजार रुपैयाँ पुगेको थियो भने चाँदी ५ हजार ७२० रुपैयाँमा खरिदबिक्री भएको थियो।
महासंघको तथ्यांकअनुसार गत मंगलबार सुन प्रतितोला ३ लाख १७ हजार र चाँदी ५ हजार ७२० रुपैयाँ कायम थियो। साताको पहिलो कारोबार दिन सोमबार भने सुन ३ लाख १३ हजार २०० र चाँदी ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।
नेपाली बजारमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा तय हुने गर्छ।