पद्मसम्भवको साधनास्थल ‘लुङबुक गुफा’: हिउँको घुम्टोभित्रको अलौकिक गन्तव्य
मुस्ताङ, १ चैत । प्राकृतिक सुन्दरता र प्राचीन सभ्यताको संगम मानिने मुस्ताङमा यस्ता धेरै सम्पदाहरू छन्, जो अझै पनि प्रचारप्रसारको पर्खाइमा छन् । तिनैमध्येको एक हो— लुङबुक गुफा। वारागुङ मुक्तिक्षेत्र–५ स्थित फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा अवस्थित यो गुफा हिउँदयाममा ‘हिउँको घुम्टो’ ओढेर बस्ने गर्दछ ।
विशाल चट्टानी पहाडको फेदीमा रहेको यो गुफाको करिब ७० प्रतिशत भाग अहिले हिउँले ढाकिएको छ । मङ्सिरदेखि चैतसम्म सेताम्मे हिउँको बरफले छपक्कै छोपिने हुनाले यसको स्वरुप हिउँदयाममा पूर्णतः परिवर्तन हुन्छ । जाडोका कारण धेरै पर्यटक यो मौसममा यहाँ पुग्न नसक्दा यसको हिउँदे सौन्दर्य ओझेलमा परिरहेको छ ।
लुङबुक गुफालाई बुद्ध धर्मका प्रख्यात गुरु रिन्पोछे (पद्मसम्भव) सँग जोडेर हेरिन्छ । १५औँ शताब्दीमा गुरु पद्मसम्भव तिब्बत जाने क्रममा यसै गुफामा बसेर ध्यान साधना गरेको धार्मिक किंवदन्ती रहेको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।
“यसलाई फल्याक र धाकार्रजुङका स्थानीयले साझा धार्मिकस्थलका रूपमा पुज्ने गरेका छन्,” वडाध्यक्ष गुरुङ भन्नुहुन्छ, “बुद्ध धर्मको निङमापा सम्प्रदायसँग जोडिएको यो गुफामा धार्मिक अनुष्ठान गरे मोक्ष प्राप्त हुने र सन्तान नभएकालाई सन्तान प्राप्ति हुने जनविश्वास छ ।” गुफाभित्र पद्मसम्भवका स-साना प्राकृतिक प्रतिमाहरू समेत देख्न सकिन्छ ।
पछिल्लो समय केही साहसी पर्यटकहरू हिउँले ढाकिएको गुफाको फरक स्वरुप नियाल्न र तस्बिर खिच्न त्यहाँ पुग्ने गरेका छन् । स्याङ्जाका पर्यटक नारायण पौडेलले लुङबुक गुफाको दर्शन र प्राकृतिक सुन्दरताले आफूलाई मोहित तुल्याएको बताउनुभयो । उहाँका अनुसार यसको धार्मिक र पर्यटकीय महत्वलाई उजागर गर्न सके मुस्ताङको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिनेछ ।
तर, हिउँदयाममा गुफाभित्र प्रवेश गर्न भने असम्भव प्रायः हुन्छ । सानो चट्टानी प्वालबाट प्रवेश गर्नुपर्ने यस गुफामा हिउँ जमेर बस्ने हुनाले चैत–वैशाखदेखि कात्तिकसम्म मात्र भित्र छिर्न सकिन्छ ।
जोमसोम–कोरला मुख्य राजमार्गबाट २० मिनेटको सवारी यात्रा र त्यसपछि करिब ४५ मिनेटको पैदल यात्रापछि लुङबुक गुफा पुग्न सकिन्छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत गुफासम्म पुग्ने गोरेटो बाटो निर्माण गरेको छ ।
गुफाको संरक्षण र यहाँ आउने भक्तजन तथा पर्यटकका लागि फल्याक र धाकार्रजुङ गाउँ समाजले खाने–बस्ने व्यवस्थापन गर्दै आएको छ । हिउँको साम्राज्यभित्र लुकेको यो धार्मिक गन्तव्य मुस्ताङ पुग्ने हरेक पदयात्रीका लागि एकपटक दर्शन गर्नैपर्ने स्थलका रूपमा विकास हुँदैछ ।