सुनचाँदीको मूल्यमा उच्च गिरावट : सुन तोलामा ४,८०० र चाँदी २२५ रुपियाँले घट्यो
काठमाडौँ, चैत १ । स्थानीय बजारमा आइतबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपियाँ र चाँदीको मूल्य २२५ रुपियाँले घटेको हो । महासङ्घले निर्धारण गरेको नयाँ मूल्यसूची अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ४०० रुपियाँ कायम गरिएको छ। गत शुक्रबार प्रतितोला ३ लाख १४ हजार २०० रुपियाँमा कारोबार भएको सुनको मूल्यमा आज ठूलो गिरावट देखिएको हो ।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेर प्रतितोला ५ हजार २७० रुपियाँ पुगेको छ। गत शुक्रबार चाँदी प्रतितोला ५ हजार ४९५ रुपियाँमा खरिदबिक्री भएको थियो ।
बजारमा पछिल्ला केही दिनदेखि सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आइरहेको छ। गत बुधबार प्रतितोला ३ लाख १९ हजार रुपियाँ पुगेको सुन बिहीबार ३ लाख १७ हजारमा झरेको थियो। त्यस्तै, बुधबार ५ हजार ७२० रुपियाँ पुगेको चाँदी बिहीबार ५ हजार ५१५ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य घट्दो क्रममा छ। पछिल्लो तथ्याङ्क अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ५ हजार २३ अमेरिकी डलर र चाँदी प्रतिऔँस ८१ डलरमा कारोबार भइरहेको छ ।