आजदेखि पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि: पेट्रोल १५ रुपैयाँ र डिजेल १० रुपैयाँले महँगियो, ग्यासको मूल्य २१२६ पुग्यो
काठमाडौँ, २ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आपूर्ति व्यवस्थापनमा परेको दबाबलाई कारण देखाउँदै निगमले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्यमा उल्लेख्य वृद्धि गरेको हो ।
निगमका अनुसार नयाँ मूल्य दर आज (चैत २ गते) बिहान ००:०१ बजेदेखि लागू भएको छ ।
कति बढ्यो मूल्य ?
निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गरेको छ । नयाँ मूल्य समायोजनपछि काठमाडौँसहितका प्रमुख सहरहरूमा इन्धनको मूल्य निम्नअनुसार कायम भएको छ:
तेस्रो वर्ग (काठमाडौँ, पोखरा र दिपायल): पेट्रोल १७२ रुपैयाँ, डिजेल/मट्टितेल १५२ रुपैयाँ ।
दोस्रो वर्ग (सुर्खेत र दाङ): पेट्रोल १७१ रुपैयाँ, डिजेल १५१ रुपैयाँ ।
पहिलो वर्ग (तराईका जिल्लाहरू): पेट्रोल १६९.५० रुपैयाँ, डिजेल १४९.५० रुपैयाँ ।
अन्तर्राष्ट्रिय बजारको पछिल्लो लागत मूल्यअनुसार पेट्रोलमा ३१ रुपैयाँ, डिजेलमा ५४ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २१६ रुपैयाँसम्म मूल्य बढेर आएको निगमले जनाएको छ । तर, उपभोक्ताको हित र सार्वजनिक सवारी साधनको सहजतालाई ध्यानमा राखेर ‘मूल्य स्थिरीकरण कोष’को प्रयोग गरी हाललाई न्यून दरमा मात्र मूल्य बढाइएको निगमको दाबी छ ।
यति ठूलो दरमा मूल्य वृद्धि गर्दा पनि निगमलाई अझै पाक्षिक रूपमा करिब ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ । विगतमा रसिया–युक्रेन युद्धका बेला बक्यौता रकम भुक्तानी गर्न नसक्दा आपूर्ति नै प्रभावित भएको अनुभवलाई स्मरण गर्दै निगमले हालको विषम परिस्थितिमा आपूर्ति प्रणालीलाई सहज बनाइराख्न मूल्य समायोजन अनिवार्य भएको स्पष्ट पारेको छ ।
निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्ने बित्तिकै नेपालमा पनि तत्काल मूल्य घटाएर उपभोक्तालाई राहत दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ । पश्चिम एसियाको तनाव लम्बिँदै गएमा इन्धनको मूल्य अझै बढ्न सक्ने जोखिम देखिएको छ ।