२२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका नेपाल सेयर मार्केट्सका पूर्वअध्यक्ष पक्राउ

काठमाडौं, २ चैत्र । बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन्। सर्वोच्च अदालतबाट ६ वर्ष कैद र २२ करोड रुपैयाँभन्दा बढी जरिवाना तोकिएका ६९ वर्षीय श्रेष्ठलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) अभिनारायण काफ्लेका अनुसार, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको टोलीले उनलाई काठमाडौंको नागार्जुन नगरपालिका–५, सीतापाइलाबाट नियन्त्रणमा लिएको हो। काठमाडौं महानगरपालिका–२४ वटु स्थायी घर भएका श्रेष्ठ पछिल्लो समय सीतापाइलामा बस्दै आएका थिए।

श्रेष्ठमाथि फाइनान्सको नेतृत्वमा रहँदा निक्षेपकर्ता र संस्थाको हितविपरीत गैरकानुनी रूपमा रकम हिनामिना गरेको ठहर छ। सोही बैंकिङ कसुरको मुद्दामा सर्वोच्च अदालतले गत भदौ ५ गते उनलाई दोषी ठहर गर्दै दुईवटा छुट्टाछुट्टै फैसला सुनाएको थियो।

प्रहरीका अनुसार, पहिलो मुद्दामा उनलाई ३ वर्ष कैद र १९ करोड ४६ लाख १ हजार ६६२ रुपैयाँ ३९ पैसा जरिवाना तोकिएको छ। त्यसैगरी, दोस्रो मुद्दामा थप ३ वर्ष कैद र ३ करोड २१ लाख ३९ हजार ६८१ रुपैयाँ ५१ पैसा जरिवानाको फैसला भएको छ। दुवै मुद्दामा गरी उनलाई कुल ६ वर्ष कैद र २२ करोड ६७ लाख ४१ हजार रुपैयाँभन्दा बढी जरिवाना भुक्तान गर्नुपर्नेछ।

पक्राउ परेका श्रेष्ठलाई अदालतको फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *