नेपालकै होचो स्थान कचनकवलमा पहिलोपटक व्यावसायिक मखनाखेती सुरु
काठमाडौँ, चैत ७ । मुलुककै सबैभन्दा होचो भू-भागका रूपमा परिचित झापाको कचनकवल गाउँपालिकामा पहिलोपटक व्यावसायिक रूपमा मखना (फक्स नट) खेतीको तयारी गरिएको छ । स्थानीय किसानहरूले कचनकवल-४ स्थित प्रसिद्ध पर्यटकीय क्षेत्र कचनकवल स्तम्भ आसपासको सिमसार क्षेत्रलाई सदुपयोग गर्दै यसको व्यावसायिक उत्पादन सुरु गर्न लागेका हुन् ।
गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईका अनुसार कचनकवल र छिमेकी झापा गाउँपालिकाका किसानहरू सङ्गठित भएर प्रारम्भिक चरणमा करिब २५ बिघा जमिनमा मखनाखेती गर्दैछन् । किसानहरूले आगामी वर्षदेखि यस खेतीलाई १५० बिघाभन्दा बढी क्षेत्रफलमा विस्तार गर्ने लक्ष्य राखेका छन् ।
उपाध्यक्ष भट्टराईले भन्नुभयो, “जिल्लामै पहिलोपटक यो खेती गर्न लागिएको हो । स्थानीय विनोदकुमार गणेशसहितका अगुवा किसानहरूले बाँझो र दलदले सिमसार जमिनलाई भाडामा लिएर अहिले बीउ उत्पादन गरिरहनुभएको छ ।” उहाँका अनुसार वैशाख र जेठ महिनाभित्र मखनाको व्यावसायिक रोपण गरिनेछ ।
विशेषगरी पानी जम्ने सिमसार क्षेत्रमा फस्टाउने मखनाका लागि कचनकवलको ओसिलो भूगोल प्राकृतिक रूपमै उपयुक्त मानिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । कृषि शाखा प्रमुख सङ्गम सापकोटाका अनुसार विगतमा छिमेकी मुलुक भारतको विहार र आसपासका क्षेत्रमा मात्र सीमित रहेको यो खेती नेपालमा व्यावसायिक रूपमा सुरु हुनु कृषि क्षेत्रको महत्त्वपूर्ण उपलब्धि हो ।
स्वास्थ्यका दृष्टिकोणले ‘सुपरफुड’ मानिने र बजारमा उच्च माग रहेको मखनाको उत्पादनले स्थानीय किसानको आर्थिकस्तर उकास्ने मात्र नभई, कचनकवलको पर्यटन र पहिचानलाई नयाँ उचाइ दिने विश्वास लिइएको छ । कृषि शाखाले यस खेतीको प्राविधिक पक्ष, प्रशोधन प्रविधि र बजार व्यवस्थापनका लागि आवश्यक अनुगमन तथा सहयोग गर्ने तयारी समेत गरिरहेको छ । यस नयाँ प्रयासले झापामा कृषि विविधीकरणको नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।