एक सातामै २७ हजारले सस्तियो सुन
काठमाडाैं, ८ चैत्र । पछिल्लो समय सुनको भाउ निरन्तर ओरालो लागिरहेको छ। एक साताकै अवधिमा सुनको भाउ तोलामा २७ हजार ४ सय रुपैयाँले घटेको छ। गत आइतबार प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन त्यसयता निरन्तर घटिरहेको हो। स्मरण रहोस्, गत माघ १५ गते सुनको भाउले प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड बनाएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ। आइतबार चाँदी तोलामा ३५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५४० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।
पछिल्लो एक सातामा चाँदी प्रतितोला ७३० रुपैयाँ घटेको महासंघले जनाएको छ। गत माघ १५ गते चाँदीले पनि प्रतितोला ७ हजार ५०५ रुपैयाँको ऐतिहासिक रेकर्ड कायम गरेको थियो।
अन्तर्राष्ट्रिय बजारमा देखिएको आर्थिक उथलपुथलको प्रत्यक्ष असर सुनचाँदीको मूल्यमा परेको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार, विश्व बजारमा तेलको मूल्य महँगिँदा खरिदका लागि अमेरिकी डलरको माग उच्च भएको छ। डलरको जोहो गर्न लगानीकर्ताहरूले सुन बिक्री बढाएपछि सुनको मूल्यमा उच्च गिरावट आएको हो।
त्यसैगरी, तेलको मूल्य आकासिँदा विश्वव्यापी रूपमै महँगी (मुद्रास्फीति) बढेको छ। यसलाई नियन्त्रण गर्न विभिन्न देशका केन्द्रीय बैंकहरुलाई ब्याजदर बढाउन दबाब पुगेको छ। ब्याजदर बढ्ने सम्भावना र डलरको मजबुतीले सुनचाँदी जस्ता बहुमूल्य धातुको मूल्यलाई थप दबाब दिएको विश्लेषकहरुले बताएका छन्।