८ महिनामै ११ खर्ब पुग्यो नेपालको व्यापार घाटा : साढे १२ खर्बको आयात हुँदा निर्यात पौने २ खर्ब मात्रै

काठमाडौं, ८ चैत्र । चालु आर्थिक वर्षको पहिलो आठ महिना (साउनदेखि फागुन मसान्तसम्म) मा नेपालको वैदेशिक व्यापार घाटा करिब ११ खर्ब रुपैयाँ पुगेको छ। निर्यातको तुलनामा आयात अत्यधिक हुँदा व्यापार घाटा चुलिएको हो।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा कुल १४ खर्ब ४० अर्ब ३६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। जसमा मुलुकले १० खर्ब ९८ अर्ब १३ करोड रुपैयाँ बराबरको विशाल व्यापार घाटा बेहोरेको छ।

आयात–निर्यातको अवस्था
कुल आयात : १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ (गत वर्षभन्दा १२.५४ प्रतिशतले वृद्धि)
कुल निर्यात : १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ (गत वर्षभन्दा २९.८३ प्रतिशतले वृद्धि)

भारत र चीनसँगै सर्वाधिक घाटा
छिमेकी मुलुक भारतसँग मात्रै नेपालले ५ खर्ब ६७ अर्ब ३९ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ। यस अवधिमा भारतबाट ७ खर्ब २४ अर्बको आयात हुँदा नेपालबाट १ खर्ब ५६ अर्बको मात्रै वस्तु निर्यात भएको छ।

त्यसैगरी, अर्को छिमेकी चीनसँग २ खर्ब ६४ अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा छ। चीनबाट २ खर्ब ७५ अर्बको वस्तु आयात हुँदा नेपालले जम्मा ९८ करोड रुपैयाँको मात्रै निर्यात गर्न सकेको छ। धेरै व्यापार घाटा हुने अन्य शीर्ष देशहरूमा अर्जेन्टिना (तेस्रो), यूएई (चौथो) र इन्डोनेसिया (पाँचौँ) रहेका छन्।

यद्यपि, रोमानिया (५० करोड ६५ लाख नाफा), नर्वे (३ करोड ३३ लाख नाफा) र आइसल्यान्ड जस्ता देशहरूसँग भने नेपालको व्यापार नाफामा रहेको विभागले जनाएको छ।

सबैभन्दा बढी के आयात भयो ?
मुलुकमा सबैभन्दा धेरै रकम पेट्रोलियम पदार्थ खरिदमा बाहिरिएको छ। आठ महिनामा ८२ अर्ब १० करोडको डिजेल, ४३ अर्ब ८९ करोडको पेट्रोल र ३७ अर्ब ३१ करोडको एलपी ग्यास आयात भएको छ।

अन्य प्रमुख आयातित वस्तुहरू:
कच्चा भटमासको तेल : ८१ अर्ब १८ करोड
फलामजन्य वस्तु : ३६ अर्ब ८२ करोड
स्मार्टफोन : २९ अर्ब ९३ करोड
सुन र चाँदी : क्रमशः २३ अर्ब ४९ करोड र १८ अर्ब ४४ करोड

निर्यातमा भटमासको तेलकै दबदबा
नेपालबाट विदेशिने वस्तुहरूको सूचीमा प्रशोधित भटमासको तेल पहिलो नम्बरमा छ। यस अवधिमा मात्रै ७५ अर्ब ७७ करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ।

अन्य प्रमुख निर्यातित वस्तुहरू:
अलैँची : ९ अर्ब ४९ करोड
कार्पेट : ६ अर्ब ५३ करोड
सूर्यमुखी तेल : ६ अर्ब २० करोड
पाम तेल : ४ अर्ब ३२ करोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *