२७औँ फ्लोरा एक्स्पो सम्पन्न: चार दिनमा १ करोड २२ लाखको कारोबार, ६० हजार दर्शकले गरे अवलोकन

काठमाडौँ, ९ चैत । नेपाली पुष्प व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘२७औँ फ्लोरा एक्स्पो’ उत्साहजनक कारोबार गर्दै आइतबार सम्पन्न भएको छ। ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत ५ गतेदेखि सञ्चालन भएको मेलामा पुष्पप्रेमी र व्यावसायिक व्यक्तिहरूको उल्लेखनीय सहभागिता रह्यो।

मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङका अनुसार चार दिनको अवधिमा मेलाले १ करोड २२ लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गरेको छ। प्रदर्शनी अवधिभर ६० हजार ७०० भन्दा बढी दर्शकले मेलाको अवलोकन गरेका थिए। मेलामा ६५ वटा व्यावसायिक, ११ वटा अफिसियल र २ वटा प्रतिस्पर्धात्मक गरी कूल ७८ वटा स्टलहरू रहेका थिए।

नेपालको पुष्प व्यवसायमा हाल ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको एसोसिएसनले जनाएको छ। यस क्षेत्रले देशभर ५३ हजार ५०० भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गर्दै आएको छ।

नेपाल पुष्पजन्य वस्तुमा आत्मनिर्भरतातर्फ उन्मुख देखिएको छ। एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले भन्सार विभागको तथ्याङ्क उद्धृत गर्दै दिनुभएको जानकारीअनुसार, अघिल्लो आर्थिक वर्षमा २७ करोड ७९ लाख रुपैयाँ बराबरको पुष्पजन्य वस्तु आयात भएकोमा यस वर्ष ५४.२७ प्रतिशतले कमी आएको छ। हाल आयात १२ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ।

अर्कोतर्फ, पुष्प निर्यातमा भने उत्साहजनक सुधार देखिएको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष निर्यात १०९.१६ प्रतिशतले वृद्धि भई २ करोड १३ लाख रुपैयाँ पुगेको अध्यक्ष श्रेष्ठले बताउनुभयो। मेलाले आन्तरिक बजार विस्तार र निर्यात प्रवर्द्धनमा थप ऊर्जा थपेको व्यवसायीहरूको विश्वास छ।