सुनको भाउ निरन्तर ओरालो लाग्नुका यस्ता छन् कारण, केही दिन अझै घट्ने संभावना
काठमाडौं, ९ चैत । ३ लाख ४० हजारको हाराहारीमा पुगेको पुगेको सुनको मूल्य पछिल्लो समय भने निरन्तर ओरालो लागिरहेको छ । आइतबार (हिजो) प्रतितोला १२ हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज (सोमबार) प्रतितोला ६ हजार पाँच सय रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७५ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। आज २ लाख ८२ हजार रुपैयाँमा झरेको छ ।
यसरी हेर्दा पछिल्लो समय दिनप्रतिदिन सुनको भाउ घट्दै गएको छ । सरल भाषामा भन्ने हो भने अन्तर्राष्ट्रिय भू–राजनीतिक तनाव चरम अवस्थामा पुगेको बेला सामान्यतया सुनको भाउ बढ्छ भन्ने अपेक्षा गरिन्छ । तर, अहिलेको पछिल्लो अवस्थालाई हेर्ने हो भने त्यो देखिएको छैन अर्थात् सुनको भाउ दिनप्रतिदिन घट्दै गएको छ ।
अहिले अमेरिका, इजरायल–इरान युद्ध चरम विन्दुमा छ । यहि बेला अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य दिनप्रतिदिन घट्दो क्रममा देखिएको छ । द्वन्द्वमा कच्चा तेलको भाउ आकाशिए पनि सुनको भाउमा भने गिरावट वा सुस्तता देखिनुमा केही कारणहरु रहेको यो क्षेत्रका विज्ञहरुको भनाई छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार अमेरिकी डलरमा हुने भएकाले पनि विश्वमा हुने युद्ध वा अस्थिरतासँगै लगानीकर्ताहरू सुनसँगै अमेरिकी डलरलाई पनि सुरक्षित मान्छन् । त्यसैले पनि युद्धका बेला सुनको भाउ बढ्छ भन्ने गरिन्छ । तर, अमेरिका–इरानबिचको युद्ध कहिले रोकिने हो भन्ने निश्चित नभइरहेका बेला पनि सुनको भाउ भने निरन्तर ओरालो झर्न थालेपछि यसलाई सो क्षेत्रका व्यक्तिहरुले अन्य कारणसँग पनि जोडेर हेर्न थालेका छन् । अमेरिकाले इरानमाथि आक्रमण गर्ने चेतावनीसँगै सुनको मूल्य आकाशिएको थियो तर अहिले फेरि निरन्तर किन घटिरहेको छ ? यसबारे सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मानिकरत्न शाक्यको तर्क फरक छ । ‘युद्ध दुई खालका हुन्छन् एउटा सामरिक र अर्को आर्थिक अहिले अमेरिका, इजरायल–इरान युद्ध सामरिक युद्ध भए पनि चीन र अमेरिकाबिच आर्थिक युद्ध पनि चलिरहेको छ,’ शाक्यले भन्नुभयो, ‘चीन सुनको भाउ र अमेरिका डलरको भाउ बढाउने होडबाजीमा छन् । त्यसको प्रत्यक्ष असर सुनमा पनि परेको छ ।’
उहाँले जसका कारण अझै केही समय सुनको भाउमा गिरावट आउन सक्ने र पछि विस्तारै सुधार भएर माथि उक्लिेन अनुमान रहेको उहाँले जानकारी दिनुभयो ।
अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) ले यसअघि निरन्तर रुपमा घटाउँदै आएको ब्याजदरलाई नघटाउने निर्णय गरेका कारण पनि त्यसको असर सुनको व्यापारमा परेको विज्ञहरुको अनुमान छ । फेडका गभर्नर जेरोम पावेलले फेड दरलाई ३.५० देखि ३.७५ प्रतिशतको बिचमा रहने यसअघिको निर्णयलाई निरन्तरता दिएका कारण डलरको मूल्य बढेको र त्यसको असर सुनमा परेको अनुमान पनि उनिहरुको छ ।
‘ब्याजदर र सुनजस्ता सम्पत्तिको मूल्यबिच विपरीत सम्बन्ध रहने भन्दै बैंकहरूले ब्याजदर बढाएसँगै, ठुला लगानीकर्ताहरूले आफ्नो लगानी सुरक्षित र ब्याज आउने ठाउँमा राख्न रुचाउँने कारण पनि सुनमा आकर्षण घट्ने र मूल्यमा असर पर्ने उनीहरुको भनाई छ ।
युद्धको प्रभाव सुनको सञ्चिति गरेका मुलुकमा देखिएको आर्थिक संकट पनि सुनको मूल्य गिरावटको कारण भएको उनीहरुको भनाई छ । अमेरिका, इजरायल–इराक युद्धको प्रभाव चीन, जापान, भारत जस्ता मुलुकमा परेको र त्यहाँ महँगी बढ्ने सम्भावना देखिएको भन्दै सुन सञ्चित गरेका ती देशलाई तेल किन्न सुनको सञ्चिति घटाउँदै जानुपर्ने बाध्यताका कारण पनि सुनको मूल्यलाई घटाउन भूमिका खेलेको बुझाई छ ।
समग्रमा सुनको मूल्यमा निरन्तर गिरावट आउनुका प्रमुख कारणहरु अमेरिकी डलर बलियो हुनु, ट्रम्पको प्रभाव बढ्नु, अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले ब्याजदर नघटाउनु, नाफा सुरक्षित गर्ने प्रवृत्ति, भू–राजनीतिक तनाव आदिलाई देखाइएको छ । यद्यपि, यो गिरावट स्थायी नहुने र विश्व अर्थतन्त्रमा आउने नयाँ उतारचढावले फेरि सुनको भाउ बढ्ने दाबी गर्नुहुन्छ शाक्य ।