अन्तरिक्ष दौडमा चीनको अर्को फड्कोः समुद्रबाटै ‘स्मार्ट ड्रागन–३’ रकेटको सफल प्रक्षेपण

एजेन्सी, ९ चैत्र । अन्तरिक्ष प्रविधिको विकासमा तीव्र फड्को मारिरहेको चीनले समुद्रबाट ‘स्मार्ट ड्रागन–३’ रकेटको सफल प्रक्षेपण गरेको छ।

चीनको सानडोङ प्रान्तस्थित हाययाङ सहरनजिकको समुद्री क्षेत्र (पहेँलो सागर) बाट आइतबार राति उक्त रकेट अन्तरिक्षतर्फ पठाइएको हो। चिनियाँ अधिकारीहरूका अनुसार, स्थानीय समयअनुसार राति ११ः४९ बजे प्रक्षेपण गरिएको रकेटले ‘सेन्टिस्पेस ०२’ नामक उपग्रह समूहलाई सफलतापूर्वक पूर्वनिर्धारित कक्ष (अर्बिट) मा स्थापित गरेको छ।

ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रको नेतृत्वमा सञ्चालित यस अभियानमा कुनै पनि प्राविधिक गडबडी नदेखिएको र प्रक्षेपण पूर्ण रूपमा सफल भएको जनाइएको छ।

जमिनबाट भन्दा जलक्षेत्रबाट रकेट प्रक्षेपण गर्नुलाई रणनीतिक र प्राविधिक रूपमा निकै महत्त्वपूर्ण मानिन्छ। समुद्रबाट रकेट उडाउँदा मानव बस्तीबाट सुरक्षित दूरी कायम राख्न सकिने भएकाले दुर्घटनाको जोखिम अत्यन्तै कम हुन्छ।

साथै, पृथ्वीको कक्षीय आवश्यकताअनुसार पानीजहाजमार्फत लचिलो स्थान छानेर रकेट प्रक्षेपण गर्न यसले सहज बनाउँछ। यस प्रविधिको विकासले चीनका परम्परागत भू–आधारित (जमिनका) प्रक्षेपण केन्द्रहरूमा पर्ने चापसमेत कम हुनेछ।

अन्तरिक्षमा पठाइएको ‘सेन्टिस्पेस ०२’ उपग्रह समूह मुख्यगरी नेभिगेसन (दिशानिर्देशन) तथा स्थान निर्धारण (पोजिसनिङ) सम्बन्धी सेवालाई थप चुस्त र प्रभावकारी बनाउन प्रयोग हुनेछ। यसले आगामी दिनमा विश्वव्यापी सञ्चार, यातायात प्रणाली र अन्य उच्च प्रविधिका क्षेत्रमा ठूलो मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

पछिल्ला वर्षहरूमा अन्तरिक्ष अनुसन्धान र नवप्रवर्तनमा आक्रामक रूपमा अघि बढिरहेको चीनका लागि समुद्री प्रक्षेपणको यो सफलता निकै ठूलो उपलब्धि हो। यसले विश्वव्यापी अन्तरिक्ष प्रतिस्पर्धामा चीनलाई थप शक्तिशाली र अब्बल बनाएको विश्लेषकहरूले बताएका छन्।