वीरगञ्ज नाकाबाट सात महिनामा एक खर्ब २३ अर्बको इन्धन आयात : ५२ अर्ब राजस्व सङ्कलन

काठमाडौँ, चैत ११ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब २३ अर्ब ६७ करोड रुपियाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा इन्धनको आयातमा वृद्धि भएको देखिएको हो ।

इन्धन आयातबाट सरकारले उल्लेख्य राजस्व समेत प्राप्त गरेको छ । कार्यालयको तथ्याङ्कअनुसार समीक्षा अवधिमा पेट्रोलियम पदार्थको आयातबाट मात्रै ५२ अर्ब १५ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ ।

आयातित इन्धनमध्ये सबैभन्दा बढी हिस्सा डिजेलको रहेको छ । कार्यालयका अनुसार सात महिनाको अवधिमा ६३ अर्ब ६५ करोड रुपियाँ बराबरको सात लाख दुई हजार ३०० किलोलिटर डिजेल भित्रिएको छ । यसैगरी, २५ अर्ब ३० करोड रुपियाँ मूल्य बराबरको दुई लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल आयात भएको छ ।

त्यसैगरी, सोही अवधिमा खाना पकाउने एलपी ग्यासको आयात पनि उल्लेख्य रहेको छ । प्राप्त विवरणअनुसार २० अर्ब ८५ करोड रुपियाँ बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । मुलुकको प्रमुख व्यापारिक नाकाबाट भएको यो आयातले गत वर्षको तुलनामा इन्धनको माग बढ्दै गएको सङ्केत गरेको छ ।