विराटनगर र पोखरा बिच पर्यटकीय मितेरी : कोशी र गण्डकी जोड्ने तयारी

काठमाडौँ, चैत १२ । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजनामा पूर्वी नेपालमा ‘जाउँ है पोखरा’ अभियान सुरु भएको छ। यस क्रममा विराटनगरमा आयोजित एक कार्यक्रममा पोखरा र कोशी प्रदेशबीच पर्यटकीय साझेदारी बढाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

कार्यक्रममा दुवै क्षेत्रका पर्यटन व्यवसायीहरूले सगरमाथाको प्रदेश (कोशी) र माछापुच्छ्रेको सहर (पोखरा) बिच धार्मिक तथा प्राकृतिक पर्यटक आदानप्रदान गर्दा दुवै प्रदेशले आर्थिक लाभ लिन सक्ने बताए । पोखरामा चैत २९ देखि वैशाख १ सम्म हुने ‘फेवा नववर्ष महोत्सव’ का लागि होटलहरूमा २५ प्रतिशत छुटको घोषणा समेत गरिएको छ। पोखरामा हाल १,२०० होटलहरूमा ४० हजार पर्यटक अटाउने क्षमता रहेको र ६ खर्ब रुपियाँभन्दा बढी लगानी भइसकेको जानकारी दिइयो।