तनहुँको ‘कटुस’ मह विश्वबजारमा : प्रतिकिलो २ हजार रुपियाँमा बिक्री

काठमाडौँ, चैत १२ । तनहुँ जिल्लामा उत्पादित महले अन्तर्राष्ट्रिय बजारमा प्रवेश पाएपछि स्थानीय मौरीपालक किसानहरूमा उत्साह छाएको छ। शुक्लागण्डकी नगरपालिका–१ स्थित थप्रेक र दगाममा उत्पादित ‘कटुस’ को महलाई सूर्य नेपाल प्रालिको ‘हिमालयन ट्रेजर’ले विश्वबजारमा पुर्‍याउन थालेको हो।

कम्पनीले प्रारम्भिक चरणमा किसानहरूबाट २ हजार १०० किलो मह प्रतिकिलो २ हजार रुपियाँका दरले खरिद गरेको छ। उच्च गुणस्तरको परीक्षण र आधुनिक प्याकेजिङपछि उक्त मह ‘मरानी चेष्टनट हनी’ ब्रान्डका रूपमा विश्वस्तरमा स्थापित भएको छ।

पहिले १० जना किसानबाट सुरु भएको मौरीपालन कार्यक्रम हाल राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको सहयोगमा ५०० भन्दा बढी किसानसम्म विस्तार भएको छ। थप्रेकका किसान सुरज वाग्लेका अनुसार महको उचित मूल्य र निश्चित बजार पाएपछि किसानहरू थप लगानी गर्न आकर्षित भएका छन्। उहाँ आफैँले पनि हाल रहेका २५ वटा मौरीका घारलाई बढाएर २०० पुर्‍याउने योजना बनाउनुभएको छ।

सूर्य नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत किसानलाई कफीका बिरुवा समेत वितरण गरी बहुआयामिक कृषि प्रणालीलाई प्रोत्साहन गरेको छ। कात्तिक महिनामा कटुस वनबाट सङ्कलित मह विदेशी बजारका लागि उत्कृष्ट ठहरिएको कम्पनीको गुणस्तर परीक्षणले देखाएको छ।

यस विषयमा तनहुँ क्षेत्र नं १ का सांसद डा. स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै नेपाली उत्पादनलाई विशिष्ट प्रशोधन र प्रभावकारी बजारीकरणमार्फत विश्वबजारमा उच्च मूल्यमा स्थापित गर्न सकिने यो एउटा महत्त्वपूर्ण उदाहरण भएको बताउनुभएको छ।