मध्य अफ्रिकी गणतन्त्रमा नेपाली शान्ति सैनिकको अदलीबदली
काठमाडौँ, चैत १३ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक (मध्य अफ्रिकी गणतन्त्र) मा तैनाथ नेपाली शान्ति सैनिकहरूको नियमित अदलीबदली गरिएको छ । त्यहाँ कार्यरत सैनिक टोलीलाई प्रतिस्थापन गर्नका लागि बिहीबार १७९ जना नेपाली शान्ति सैनिकहरू मिसन इलाकातर्फ प्रस्थान गरेका छन् । प्रस्थान गर्ने टोलीमा श्री कालीबहादुर गण (आठौँ डफ्फा) र सैनिक प्रहरी युनिट (एघारौँ डफ्फा) का सैनिकहरू रहेका छन् । उनीहरूले त्यहाँ आफ्नो कार्यकाल पूरा गरेका रिपुमर्दन गण (सातौँ डफ्फा) र सैनिक प्रहरी युनिट (दशौँ डफ्फा) लाई जिम्मेवारी हस्तान्तरण गर्नेछन् ।
नेपाली सेनाका अनुसार, सोही मिसनमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी २११ जना शान्ति सैनिकहरू स्वदेश फिर्ता भइसकेका छन् । हाल मध्य अफ्रिकी गणतन्त्रमा विभिन्न इकाईका गरी कुल १ हजार १०७ जना नेपाली शान्ति सैनिकहरू कार्यरत रहेको सेनाले जनाएको छ ।