परराष्ट्र नीतिमा स्थिरता र निरन्तरता रहनेछ : परराष्ट्रमन्त्री शिशिर खनाल
काठमाडौँ, चैत १३ । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन भए पनि राष्ट्रको परराष्ट्र नीतिमा कुनै फेरबदल नहुने स्पष्ट पार्नुभएको छ । आज मन्त्रालयमा पदबहाली गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले नेपालको परराष्ट्र नीति संविधानमा स्पष्ट रूपमा उल्लेख गरिएको र यसले राष्ट्रिय हितलाई सर्वोपरि राख्ने बताउनुभयो ।
मन्त्री खनालले भन्नुभयो, “नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वार्थसँग जोडिएको परराष्ट्र नीति व्यक्ति वा सरकार फेरिँदैमा परिवर्तन हुँदैन । नेपालले लामो समयदेखि अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीतिलाई नै यो सरकारले निरन्तरता दिनेछ ।”
पश्चिम एसियाको द्वन्द्व र नेपालीको सुरक्षा
पश्चिम एसियामा बढ्दै गएको द्वन्द्वप्रति चासो व्यक्त गर्दै मन्त्री खनालले त्यहाँ रहेका ८० हजारभन्दा बढी नेपाली नागरिकको सुरक्षाका लागि मन्त्रालयले तथ्याङ्क सङ्कलन र कूटनीतिक पहल गरिरहेको जानकारी दिनुभयो । “हाम्रो प्राथमिकता नेपाली नागरिकलाई उनीहरू रहेकै देशमा सुरक्षित राख्नु हो, तर परिस्थिति संवेदनशील बनेमा सरकारले थप कदम चाल्नेछ,” उहाँले भन्नुभयो । द्वन्द्वका कारण इन्धन आपूर्ति र मूल्यमा पर्न सक्ने प्रभावबारे पनि मन्त्रालयले गम्भीरतापूर्वक विश्लेषण गरिरहेको उहाँले बताउनुभयो ।
कन्सुलर सेवाको डिजिटाइजेसन र आर्थिक कूटनीति
मन्त्री खनालले कार्यभार सम्हालेलगत्तै कन्सुलर सेवालाई डिजिटल प्रविधिमार्फत सहज बनाउने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ । सेवाग्राहीले सरकारी कार्यालयमै उपस्थित नभई घरबाटै सेवा प्राप्त गर्न सक्ने व्यवस्था विस्तार गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो । यस्तै, मुलुकको आर्थिक समृद्धिका लागि ‘इकोनोमिक डिप्लोमेसी’ (आर्थिक कूटनीति) लाई विशेष प्राथमिकता दिइने उहाँको भनाइ थियो ।
मन्त्री खनालको संक्षिप्त जीवनी
काठमाडौँ क्षेत्र नं ६ बाट दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा सदस्यमा निर्वाचित ४७ वर्षीय शिशिर खनालसँग यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा काम गरेको अनुभव छ । राजनीतिमा प्रवेश गर्नुअघि ‘टिच फर नेपाल’ को संस्थापकका रूपमा सार्वजनिक शिक्षा सुधारमा सक्रिय खनाल हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख हुनुहुन्छ ।
संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ विसकोन्सिन म्याडिसनबाट सार्वजनिक नीति र ब्रिजपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएका खनालसँग अन्तर्राष्ट्रिय विकास र सामाजिक क्षेत्रमा लामो अनुभव रहेको छ । उहाँको पुर्ख्यौली थलो तनहुँ हो भने हाल काठमाडौँको टोखामा बसोबास गर्दै आउनुभएको छ ।